aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

जनतालाई दुख दिने राष्ट्रपतिको सवारी, डाक्टरको टाउको फुट्यो

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २८ माघ २०७९
जनतालाई दुख दिने राष्ट्रपतिको सवारी, डाक्टरको टाउको फुट्यो

काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा. जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए। पार्किङमा राखिएको साइकल डोर्‍याउँदै ट्रमा सेन्टरको परिसर हुँदै गेटसम्म पुगे। त्यहाँ बाक्लो भिड थियो। त्यही भिड छिचोल्दै निस्कन खोज्दा नेपाल प्रहरीका एकजना हवल्दार आक्रोशित हुँदै उनलाई धकेल्न थाले। सिंहले आफू डाक्टर भएको भन्दै परिचयपत्र देखाए। तर ती हवल्दार झन् आक्रोशित भएर परिचयपत्र खोस्दै लाठी प्रहार गर्न थाले। लाठीबाट डा. सिंहको टाउकोमा गम्भीर चोट लागेको छ। घर जान निस्केका उनी चोट लागेपछि पुनः ट्रमा सेन्टरमै फर्किएर उपचार गराइरहेका छन्।  

घाइते भएका डा। सिंह हाडजोर्नी तथा नसाको क्यान्सर रोगका नेपालकै उत्कृष्ट चिकित्सक मानिन्छन्। यसरी वरिष्ठ चिकित्सकमाथि लाठी प्रहार भएपछि तत्काल ट्रमा सेन्टर र छेउमै रहेको वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवा ठप्प पारेर आन्दोलित भएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले छेउमै रहेको कान्तिपथमा चक्काजामसमेत गरे। त्यसपछि प्रहरीले फेरि बल प्रयोग गरेको थियो। बल प्रयोगबाट अन्य केही चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि लाठी प्रहार भएको थियो। त्यसमा पनि केही घाइते भएको बताइएको छ। त्यसयता शुक्रबार अबेर साँझसम्म पनि ट्रमा सेन्टर र वीर अस्पतालको सेवा ठप्प छ। आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी प्रहार भएपछि ट्रमा सेन्टरमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मी अस्पतालबाहिर प्रदर्शनमै थिए। उनीहरूले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै आएका छन्।  

यसैबीचमा जिल्ला प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्की आफैं समस्या समाधानका लागि छलफलमा खटिएका थिए। प्रहरीले ट्रमा सेन्टरको व्यवस्थापन समिति र आन्दोलित चिकित्सक समूहसँग छलफल गरेको थियो। छलफलबाट प्रहरीले चिकित्सकमाथि लाठी प्रहार गर्ने हवल्दारलाई कारबाही गर्ने र ट्रमा सेन्टरबाट जाहेरी दर्ता गर्ने सहमति भएको ट्रमा सेन्टरका शाखा अधिकृत नवराज गौतमले बताए। 

प्रतिक्रिया दिनुहोस