
काठमाडौं । जगदम्बा स्टिल्स प्रा.लि.बाट ४ दिनमा व्यवसायी दीपक भट्टको खातामा ४५ करोड रूपैयाँ जम्मा भएको स्टेटमेन्टले देखायो । ठूलो व्यापारिक घरानाबाट एउटा व्यक्तिको खातामा ४ दिनमा यत्रो रकम किन जम्मा भयो भन्ने प्रश्न उठेको छ । त्यसभन्दा पछि पनि ४० करोड आएको छ भन्ने सम्पत्ति शुद्धीकरण विभागका पदाधिकारीको भनाइ रहेछ । भुक्तानीको औचित्य पुष्टि नभएको, केको आम्दानी हो भन्ने नखुलेको भन्ने कुरा बाहिरिएको छ ।
पटक–पटक गरी ८५ करोड जगदम्बा स्टिल्सबाट भट्टको खातामा ट्रान्सफर भएको रहेछ । तर जगदम्बा स्टिलको लेखापरीक्षण प्रतिवेदनमा भने यो कारोबारको विवरण देखाइएन । जगदम्बाको विवरणमा योे कारोबार लुकाइयो । वित्तीय जानकारी एकाइले दोहोरो परीक्षणपछि मात्र यो पत्ता लगाउन सफल भयो । व्यवसायीले यस्ता गफलत कति कति गर्दा हुन्, हाम्रा नियामक निकायहरूले पत्तै पाउँदैनन् । झण्डै अर्ब रुपियाँको कारोबार लुकाउनुपर्ने कारणको खोजबिन हुनुपर्छ ।
जगदम्बा स्टिल्स शंकर ग्रुप अन्तर्गतको व्यापारिक कम्पनी हो । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हुन्, उपाध्यक्ष सुलभ र प्रबन्ध निर्देशक साहिल अग्रवाल हुन । शंकर ग्रुपले भट्टकै राजनीतिक पहुँच प्रयोग गर्दै ‘व्यापारिक लाभ’ लिने गरेको भनिन्छ । यो विवाद फासफुस पार्न विभागमा सरकार र विभिन्न दलीय उच्च नेताको दबाब आइरहेको भनिन्छ । सहसचिव प्रमुख हुने विभागले ठूला घराना र लहरो जोडिएको ठूलो भार थाम्न सक्दैन कि भनी शंका गरिन्छ । विभाग नै प्रधानमन्त्री कार्यालय मातहत भएकाले पनि अनुसन्धान टुङ्गिनुको सट्टा अल्झिएको देखिन्छ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनी निर्माणमा मिलाउने कामको भूमिका भट्टले खेलेका थिए । उनका इन्फिनिटी होल्डिङ्स र कन्टिनेन्टल कम्पनीलाई सेयर उपलब्ध गराउन बाँकी थियो । त्यसैका लागि अन्य घरानाले उठाएको रकमको संकलन शंकर गु्रपले गरेको भनिन्छ । त्यही रकम नै भट्टको खातामा शंकर ग्रुपबाट आएको भनिन्छ । यही ८५ करोड रुपियाँ शंकर गु्रपबाट भट्टको खातामा आएकामा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिनुपर्ने हो ।
भट्टको राजनीतिक ताकत र पहुँच अपार छ भनिन्छ । अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माणमा नायव सुब्बा रघुनाथ घिमिरे र सिएलाई छिराएर राजस्व र करका दर भट्टले नै फेरबदल गराएका थिए भनिन्छ । शंकरलाल र केही व्यापारिक घरानाको लाभका लागि भट्टले नै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको मिलेमतोमा गराएका भनिन्छ । ती घिमिरे भट्टकहाँ नै काम गर्छन् ।
प्रतिक्रिया दिनुहोस