काठमाडौँ। नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको उपत्यका विशेष प्रदेश कमिटीले यही फागुन ५ देखि ७ गतेसम्म काठमाडौँमा विभिन्न कार्यक्रम गर्न गइरहेको छ । संघका अनुसार फागुन ५ गते नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ९ बजेदेखि ५ बजे सम्म सञ्चालन हुने अन्तरक्रिया कार्यक्रममा समसामयिक बैंकिंग तथा समग्र अर्थतन्त्रका विभिन्न आयमहरुमा छलफल हुनेछ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक श्री किरण पण्डित, एफसिए. अरुण राउत, सिनियर बैंकर अनलराज भट्टराई, तथा विज्ञ अर्थशास्त्री डा. विश्वास गौचन लगायतको प्रस्तुति रहने संघका उपत्यका प्रदेश कमिटीका प्रमुख सिए टिका कार्कीले जानकारी गराएका छन् । उक्त कार्यक्रममा सहभागी हुने नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका सदस्यहरूले १० घण्टाको सिपिई क्रेडिट समेत पाउने संघले जनाएको छ ।
साथै, फागुन ६ देखि धन्यन्तरी स्पोर्टस् हब, धुम्बाराहीमा दुई दिनसम्म भ्याली स्पोर्टस् कप खेलकुद समेत सञ्चालन हुनेछ । उक्त कार्यक्रममा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता हुने प्रमुख सिए टिका कार्कीले जानकारी गराएका छन्। खेलमा सहभागी र दर्शकको रूपमा सहभागी भई खेलको मज्जा लिन संघले सदस्यहरूलाई आव्हान समेत गरिसकेको छ । कार्यक्रमले नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका सदस्यहरूबिच आपसी मेलमिलाप, भाइचारा बनाई पेसासँगै खेलमा समेत आकर्षित गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस