
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् ।
शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ ।
सीआईबीका निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले हालसम्म नौ जना अमेरिकी नागरिकले आफू ठगिएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएको बताए ।
सीआईबीको अनुसन्धानमा शाहसहित सङ्गठित समूहले अमेरिकाबाट ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर विभिन्न कम्पनीको नाममा भित्र्याएको खुलेको छ । त्यही अभियोगमा शाहसहित छ जनालाई गत पुस २२ गते काठमाडौँबाट पक्राउ गरिएको थियो । शाहको नाममा रहेका अन्य कम्पनी र त्यसका सञ्चालकसमेत अवैध रकम भित्र्याउन सहयोगी भएको हुन सक्नेबारे समेत ब्युरोले अनुसन्धान गरिरहेको छ ।
शाहसहितको समूहले विभिन्न नक्कली कागजपत्र तयार गरी विभिन्न बैङ्कबाट ऋण लिएको पाइएपछि ब्युरोले सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।
योजनाबद्ध र सङ्गठित रूपमा अमेरिकी नागरिकसँग ठगी गरेको रकम शाहसहितको समूहले नेपालमा दर्ता भएका वल्र्ड ट्राभल्स एन्ड इन्भेस्टमेन्ट प्रालि, वल्र्ड फस्ट होलिडे प्रालि, वल्र्ड वाइड रेमिट प्रालि, वल्र्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालि, टाइम्स टुडे पिस होलिडे इन्भायरोमेन्ट प्रालि, वल्र्ड एट वर्क कन्सल्टेन्स प्रालिलगायतका कम्पनीमार्फत नेपाल ल्याएको खुलेको सीआईबीले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले ती कम्पनीको नाममा नेपालमा रहेका विभिन्न ११ वटा बैङ्क खाता रोक्का गरिसकेको छ। शाहको नाममा रहेको बेलायती पाउन्ड १२ हजार ८२५ (नेपाली रुपियाँ २० लाख ४१ हजार) जम्मा भएको रकमको स्रोतसमेत खुलेको छैन ।
अमेरिकी नागरिक जुलिया होड्याज रिकेट, जेम्स फार्मरलगायत कतिपय वृद्धा र दीर्घ रोगीलाई घरमा सेवा दिने भन्दै उनीहरूको बैङ्क खातामा पहुँच पु(याएर रकम ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ । सीआईबीसँगको बयानका क्रममा शाहले यी आरोप अस्वीकार गरेको र उक्त रकम नेपाल घुम्न आएका अमेरिकी पर्यटकलाई सेवा दिएबापत लिएको दाबी गरेको सीआईबी स्रोतले जनाएको छ । २०७६ पछि कोरोना महामारी फैलिएको र त्यस समयमा नेपालमा पर्यटन व्यवसाय ठप्प भएका बेलासमेत शाहका खातामा रकम भित्रिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस