काठमाडौं । कुलबहादुर केसी मुख्यमन्त्री भएका बेला लुम्बिनीप्रदेशको राज्यमन्त्री रहेकी विमला वलीले आजदेखि नेकपा (माओवादी केन्द्र) परित्याग गरेको घोषणा गरेकी छिन् । राज्यमन्त्री भएका बेला विवाद र चर्चा दुवै कमाएकी वलीले आज राजीनामा मार्फत पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
आफूलाई माओवादीले वेवास्ता गरेको कारण पार्टी छोड्नु परेको उनको गुनासो रहेको छ । ‘मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु’ –उनले राजीनामा पत्रमा लेखेकी छिन् ।
‘ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेको इतिहास हामीसामू छन्, तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन’–उनले गुनासो गरेकी छिन् ।
अघिल्लो निर्वाचन जितेका उनका पति उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाको तर्फबाट रिक्त स्थानमा उनीउम्मेदवार बनेर विजयी भएकी थिइन् । तत्कालीन नेकपालाई २०७७ फागुन २३ गतेसर्वोच्च अदालतले बदर गरेर नेकपा (एमाले) र माओवादी केन्द्रलाई छुट्याइदिएपछि उनी माओवादीमा लागेकी थिइन् ।
त्यसपछि माओवादीको कोटाबाट उनी प्रदेश सरकारको स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी थिइन् । राज्यमन्त्री रहेका बेला सरकाररी गाडीमा झण्डा हल्लाउँदै गएर एक महिला र बालिकामाथि हातपात गरेको आरोपमा विवादित बनेपछि उनले पदबाट राजीनामा दिएकीथिइन् ।
प्रतिक्रिया दिनुहोस