aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अमरज्योति सहकारीका अध्यक्ष ९५ लाख लिएर फरार, लगानी गर्नेको विचल्ली

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, ०२ फागुन २०७९
अमरज्योति सहकारीका अध्यक्ष ९५ लाख लिएर फरार, लगानी गर्नेको विचल्ली

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ गुमीका प्रेमा घर्ती, दिलसरी पुन र मनमाया पुनलाई अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले १० वर्षअघि २०६९ चैतमा सामूहिक कुखुरा पालनका लागि भन्दै ब्रोइलरका २०० चल्ला दियो। चल्ला दिँदा दाना पनि उपलब्ध गराउने, औषधि उपचारसँगै हुर्किएका कुखुरा बिक्रीको ग्यारेन्टी पनि लिने सहकारीले बतायो। पछि वचनअनुसार दाना र औषधि नदिँदा कुखुराका चल्ला मर्न थाले। बचेका केही चल्ला उनीहरूले सहकारीका उपाध्यक्ष जितबहादुर घर्तीको जिम्मा लगाए।

‘सहकारीले चल्ला दिँदा दाना र औषधि उपचार गरिदिन्छौं, ठुलो भएपछि आफैं खरिद गछौं भनेको थियो,’ प्रेमाले भनिन्, ‘सहमतिअनुसार दाना र औषधि नपाइएपछि हामीले १५० जति कुखुरा उपाध्यक्षको जिम्मा लगायौं।’ सात वर्षपछि २०७६ भदौमा सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी गाउँ फर्किए। उनले चल्ला लिएकाहरूलाई साँवा र ब्याज बुझाउन ताकेता गर्न थाले। ‘सरकारको पैसा हो, तिरेनौं भने सबैलाई जेल पठाउँछु भनेर धम्की पनि दिए,’ उनले भनिन्, ‘बाध्य भएर लिँदै नलिएको पैसाको साँवा र ब्याज तिर्न बाध्य भयौं।’ प्रेमा, दिलसरी र मनमायाले २०० वटा चल्लाबापत साँवा १ लाख ३ हजार १२५ रूपैयाँ तिरे भने ६ वर्ष ६ महिनाको ब्याजबापत १२ हजार ३२५ रूपैयाँ अध्यक्षलाई बुझाए।

‘उतिबेला ब्रोइलर चल्ला एउटाको २५ रूपैयाँ पथ्र्यो,’ उनले भनिन्, ‘एक महिना पारेर १५० चल्ला फिर्ता गर्दा पनि हामीबाट साँवा र ब्याजसहित सहकारीका अध्यक्ष रेग्मीले १ लाख १५ हजार ४५० रूपैयाँ असुले।’ रेग्मीले कुखुराका चल्ला दिँदा गाउँलेबाट जमिनको लाजपुर्जा पनि लिएका थिए। साँवाब्याज चुक्त गरिसक्दा पनि गाउँलेले लालपुर्जा पाएका छैनन्। गुमीकै दुरपती गुरुङले सहकारीबाट २०७० असारमा ब्रोइलर कुखुराका १०० चल्ला लिइन्। सहकारीले दाना र औषधिको व्यवस्था नगरेपछि उनले पनि उपाध्यक्ष घर्तीलाई नै कुखुरा फिर्ता गरिन्। ६ वर्षपछि गाउँ फर्किएका तिनै अध्यक्ष रेग्मीले दुरपतीबाट १ लाख २९ हजार १९५ साँवा र ३३ हजार २० रूपैयाँ ब्याज असुल गरे। ९५ लाख।।।

‘कुखुरा दिँदा सहकारीले जग्गाको पुर्जा लिएको थियो, पैसा नदिए बैंकले जग्गा लिलाम गर्ने धम्की दियो,’ दुरपतीले भनिन्, ‘छिमेकीसँग ऋण काढेर २ लाख २२ हजार २१५ रूपैयाँ तिरें।’ अध्यक्ष रेग्मीले ऋण असुल गर्दा युवा स्वरोजगार कोषमार्फत रकम प्राप्त नगर्दै लगानी गरेको भरपाई बनाएका छन्। ‘घरघर आएर तपाईंको साँवाब्याज तिर्नुहोस्, नभए बैंकले जग्गा लिलामी गर्छ भन्दै धम्की दियो,’ दुरपतीले भनिन्, ‘हामीले पैसा देख्नै पाएनौं, ब्रोइलर चल्ला लिएका थियौं, डर र धम्कीले उसले भनेजति रकम ऋण सापट गरेर ति¥यौं।’ उनले मासिक रूपमा सहकारीमा जम्मा गरेको रकम पनि पाइनन्। मासिक ५०० का दरले उनले सहकारीमा ११ हजार रूपैयाँ जम्मा गरेकी थिइन्। पैसा असुल गरेर अध्यक्ष सम्पर्कविहीन भएपछि उनले बचत गरेको रकम पनि पाइनन्। ‘श्रीमान्ले घरखर्च दिएको पैसाबाट सहकारीमा रकम जम्मा गरेकी थिएँ,’ उनले भनिन्, ‘त्यो रकम पनि मैले झिक्न पाइनँ।’

सहकारीका अध्यक्ष रेग्मीले ३८ जनाबाट कुखुरापालन, खुद्रा पसल, बंगुरपालन, भैंसीपालन तथा साना उद्योगमा लगानी गरेको भन्दै ३० लाख ५२ हजार ३२८ साँवा र २० लाख ९८ हजार १९३ ब्याज गरी ५१ लाख ५० हजार ५२१ रूपैयाँ असुल गरिसकेका छन्। सहकारीले १० वर्षअघि युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट तीन किस्ता गरेर ५० लाख रूपैयाँ ऋण ल्याएको थियो। ‘सुरुको र दोस्रो किस्ता आउँदासम्म कृषकहरूलाई नगदै नदिए पनि कुखुरा र बंगुरका चल्लाहरू सहकारीले दिएको थियो,’ स्थानीय जसबहादुर सुनारले भने, ‘तेस्रो किस्ताबापतको २० लाख रूपैयाँ लिएदेखि अध्यक्ष सम्पर्कविहीन भए।’

अध्यक्ष रेग्मीले संस्थाका सेयर सदस्यका नाममा नक्कली हस्ताक्षर गरेर पनि कोषको रकम हिनामिना गरेको देखिन्छ। सहकारीका उपाध्यक्ष घर्तीका अनुसार सेयर सदस्य दलबहादुर खड्का, कल्पना सुनार, हरिमाया पुन, प्रेमबहादुर गुरुङ, डम्बरबहादुर घर्ती र रेशमबहादुर नेपालीका नाममा नक्कली हस्ताक्षर र तमसुक बनाएर ५ लाख ८२ हजार १३५ रूपैयाँ निकासा गरेका थिए।

पदाधिकारीहरूका अनुसार अध्यक्ष रेग्मीले कृषकहरूबाट उठाएको र कोषबाट ऋण ल्याएको सहित ९४ लाख ८१ हजार २५५ रूपैयाँ सहकारीबाट लिएका छन्। ‘कोषबाट लिएको ऋण तिर्ने सर्तमा हामीले कृषकहरूबाट उठेको साँवा र ब्याजसहित सहकारीमा रहेको रकम पनि अध्यक्षको जिम्मा लगाएका हौं,’ उनले भने, ‘अध्यक्षले कोषको साँवा र ब्याज नतिर्दा सहकारीलाई कालोसूचीमा मात्रै राखिएन, सहकारीका पदाधिकारी र सेयरधनी सदस्यहरूको जमिन लिलाम हुने अवस्थामा पुगेको छ।’

प्रतिक्रिया दिनुहोस