
काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन बन्द गरिने जनाएका हुन् ।
ट्राफिक प्रहरीले ऐनविपरीत जरिमाना असुल्ने, चालकको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुलीलगायत मनोमानी गरेको उनीहरूको आरोप छ । यसअघिसमेत ट्राफिक प्रहरीले जरिमानाका नाममा मनोमानी गर्ने गरेको भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिँदै आइरहेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरले उठाएका माग तत्कालै सम्बोधन गरिनुपर्ने बताए । उनले कानुन संशोधनलगायतका नीतिगत विषय सम्बोधन गर्नेगरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने जानकारी दिए ।
राईका अनुसार यातायात मजदुरलाई नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी शैलीमा कुटपिटसमेत गर्दै आएका थिए । उनका अनुसार सो कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि आन्दोलन चर्किएको थियो ।
ठेकेदार कम्पनी र मजदुरको ‘अराजकता’को मारमा सर्वसाधारण
‘ट्राफिक जरिमानाविरुद्ध हाम्रा १० बुँदे माग थिए, शान्तिपूर्ण आन्दोलनमार्फत हाम्रा माग सार्वजनिक गर्ने कार्यक्रम थियो, सो क्रममा गुन्डागर्दी शैलीमा यातायात मजदुरमाथि आक्रमण हुँदा आन्दोलन चर्कियो, अब हाम्रा माग पूरा नहुँदासम्म उपत्यकामा सार्वजनिक यातायात बन्द गर्छौं,’ राईले राजधानीसँग भने ।
यातायात मजदुरको आन्दोलनले सोमबार उग्ररूप लिँदै गएपछि नयाँ बसपार्क क्षेत्रको गोंगबु, माछापोखरी, बालाजुलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको थियो भने सर्वसाधारणलाई हिँडडुल गर्नसमेत असहज भएको थियो । सो अवस्था नियन्त्रणमा लिन खोज्दा प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप भएको थियो । आन्दोलका क्रममा प्रदर्शनकारीले बालाजु वृत्तका बा२झ १४४ नम्बरको स्कोर्पियो र बा१झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।
यस्तै, यातायात मजदुरले प्रहरीको अस्थायी बिटमा पनि आगजनी गरेका छन् भने ल्होत्से मलमा पनि आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा यातायात मजदुरले सवारीसाधन नै बाटोमा तेस्र्याएर सडकमा निस्किएका थिए । प्रहरीले सडक खुलाउन दबाब दिएपछि दोहोरो झडप भएको थियो ।
यातायात व्यवसायी सुरज कार्की भन्छन्, ‘ट्राफिक नियम उल्लंघन गर्दा कारबाही हुनुपर्छ तर कारबाहीका नाममा महँगी सहन सकिँदैन, पाँचपटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमले धेरैलाई दुःख दिएको छ, यस्ता नियम सच्याइनुपर्छ ।’
यातायात मजदुरको आन्दोलन नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी आन्दोलनलाई नियन्त्रणमा लिन खटाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
एम्बुलेन्ससमेत गुड्न पाएन
राजधानी काठमाडौंको ‘लाइफलाइन’ मानिने गोंगबु, नयाँबसपार्क, बालाजु, माछापोखरी, बाइपासलगायत क्षेत्रमा सोमबार मध्याह्नदेखि नै यातायात मजदुरले गाडी तेस्र्याएर अबरोध खडा गरेपछि हजारौं सर्वसाधारण मारमा परे ।
उनीहरूले बसपार्क सञ्चालनको जिम्मेवारी पाएको लोत्से बहुउद्देश्यीय कम्पनीका पदाधिकारीले मजदुरमाथि आक्रमण र थिचोमिचो गरेको आरोप लगाउँदै त्यसविरुद्ध यातायात नै अवरुद्ध गरिएको बताए । तर, यातायात मजदुरको आन्दोलन सोमबार साँझसम्म आइपुग्दा नियन्त्रणबाहिर गएर अराजकको जत्थामा परिणत हुनपुगेको थियो ।
उनीहरूले कानुन हातमा लिने प्रयास गरे । काठमााडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायले कानुन हातमा लिएर अराजक गतिविधि गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।
सीडीओ उपाध्यायले आफ्ना माग राख्दा कानुनअनुसार शान्तिपूर्ण रूपमा राख्नुपर्नेमा त्यसो नगरिनु दुःखद भएको बताए । उनले आन्दोलनरत पक्षलाई वार्तामा बसी निकास खोज्न आग्रह गरे ।
नियन्त्रणबाहिर गएको भीडले बसपार्क क्षेत्रमा रहेको लोत्से कम्पनीमा प्रवेश गरी तोडफोडसमेत गरे । उनीहरूको अराजक भीडले माछापोखरीमा रहेको प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको छ भने प्रहरीको भ्यानमा समेत आगो लगाइदिएको छ । राति अबेरसम्म पनि गोंगबु, बसपार्क, माछापोखरी, बालाजु, बाइपास क्षेत्र तनावग्रस्त अवस्थामा थियो ।
प्रतिक्रिया दिनुहोस