काठमाडौं । सोमबारदेखि आन्दोलन सुरु गरेका यातायात व्यवसायी र मजदुरको आन्दोलन स्थगित भएको छ । आज भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा सरकारी पक्षसँग भएको वार्तापछि उनीहरु आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएका हुन् ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् ।
आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको छ । यसअघि मजदुर सङ्गठनहरूले १० बुँदे माग राख्दै ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
आज बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु नचल्दा सर्वसाधारणलाई सास्ती भएको थियो । कतिपय निजी विद्यालयसमेत बन्द भएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका सहअध्यक्ष किरण रिजालले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए । सोमबार नयाँ बसपार्कमा भएको तोडफोडमा र लुटपाटको भने छानबिन गरेर दोषीलाई कारबाही गरिने रिजालको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस