काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन तोड्ने तयारी भएको सूचना पाएको संकेत गरेका छन् । आज काठमाडौंमा पार्टीको भातृसंगठन अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएर यस्तो संकेत गरेका हुन् ।
ओलीले गठबन्धन कसले र किन टुटाउँदैछ भन्ने बारेमा भने केही बताएनन् ।
विगतको पाँचदलीय गठबन्धन तोडिँदा एमालेका नेता–कार्यकर्तामा आनन्दानुभूति देखिएको बताउँदै ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगे पनि तयार हुनुपर्नेमा जोड दिए ।
उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरे । “यो देशको पाले नेकपा (एमाले) हो । त्यसैले एमालेलाई जुनसुकै बेलामा पनि आक्रमण हुनसक्छ,” उनले भने, “तर, एक छिन पराजित गरे पनि उनीहरूले नेकपा (एमाले)लाई कमजोर पार्न सक्ने छैनन् ।”
हिजो पनि कम्युनिस्ट पार्टीलाई दुइतिहाइको अवस्थामा पुर्याएका बेला एमालेमाथि आक्रमण भएको भन्दै उनले एमाले युवा, विद्यार्थीको आन्दोलनको जगमा फेरि उठेको बताए ।
प्रतिक्रिया दिनुहोस