aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतले हवाई रुटको अनुमति नदिँदा दुई अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
भारतले हवाई रुटको अनुमति नदिँदा दुई अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो। तर आन्तरिक उडानमा नै सीमित छ। गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुस १ गतेबाट बाह्य उडान ठप्प छ। भैरहवामा जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको थियो। खराब मौसमको कारण देखाउँदै ६१ दिनदेखि भैरहवामा अन्तर्राष्ट्रिय नियमित उडान रोकिएको छ। तर, दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय हो। 

दुई दिनको नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनय क्वात्रासँगको छलफलमा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको सम्बन्धमा खासै छलफल भएन। भारतीय सचिवसँगको भेटमा नेपाल तर्फबाट थप हवाई प्रवेश मार्गका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि सहमतिका सम्बन्धमा अनुरोध गरिएको थियो। करिब १५ दिनअघि नै सो सम्बन्धमा परराष्ट्रमा प्रस्ताव पठाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। 

‘भैरहवा रुटलाई बाई डिरेक्सनल बनाउने (विमान आउने र जाने) र पोखराको सम्बन्धमा सिमराबाट छिरेर गल्फ ५९० रुट भएर जाने सम्बन्धमा हामीले पहिला पनि भनेका थियौं,’ उनले भने। दुई देशको परराष्ट्र सचिवको भेटमा उद्योग तथा वाणिज्यसम्बन्धी छलफलले प्राथमिकता पाएकोले पनि यो नीतिगत विषय सम्बोधन नभएको भन्ने सुनिएको भुलले बताए। प्राधिकरणले केही समयअघि पनि कूटनीतिक नोट भनेर प्रक्रियागत रूपमा नै भारतलाई पठाएको तर कुनै प्रतिक्रया नआएको पनि उनले जानकारी दिए। 

भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ।

नयाँ रुट र सीमा उडान सहमतिको भारत समक्ष गरिएको प्रस्ताव भने नयाँ होइन। नेपाल पक्षले दशकदेखि उक्त मुद्दालाई हरेक कूटनीतिक भेटमा उठाउँदै आएको छ। भारतले मौखिक सहमति जनाउने तर कार्यान्वयन नगरेको प्राधिकरण पूर्वकार्यकारी निर्देशक राजकुमार क्षेत्री बताउँछन्। चिनियाँ लगानी रहेका कारण पनि नयाँ हवाई रुटका लागि भारतीय अनुमति प्रभावित हुने सम्भावना रहेको क्षेत्रीले बताए। 

प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ। तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस