
काठमाडौं । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ । सरकारसँग सहमति भएपछि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा जारी आन्दोलन स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित आन्दोलनरत पक्षसँग प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको वार्तापछि सहमति जुटेको हो। सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र आन्दोलनरत पक्षका तर्फबाट अभियन्ता रुबी खानले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गर्ने र दोषीउपर मुद्दा चलाउने सहमति भएको छ ।
आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई यथावत् (थाती) राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने सहमतिपत्रमा भनिएको छ । त्यसैगरी आन्दोलनरत पक्षका व्यक्तिहरूको जिउज्यानको सुरक्षाका लागि सुरक्षा संयन्त्रहरूले उचित समन्वय र प्रबन्ध गर्ने सहमति पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस