
काठमाडौं । जनकपुरधाम–१९ बेंगाशिपुरमा बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ। तर, परिवारका कसैले पनि शिक्षा पाउन सकेका छैनन्। उनका एक छोरा र चार छोरी गरी पाँच सन्तान छन्। दुई छोरीको बिहे भइसक्यो। दुई जना घरमै बनिबुत्ता गर्छन्। छोरा बरालिएर हिँड्छन्। सम्पत्तिको नाममा गाउँ ब्लकको जग्गामा ५ धुरमा बनेको घर छ। दिनभर कमाए राति घरमा चुल्हो बल्छ। नत्र बल्दैन।
महराले हातखुट्टा बलियो हुँदा अरूको खेतमा काम गरेर सन्तानको पालनपोषण गरे । उनले भने, ‘यत्रो दिन भयो, म, मेरी जहान र छोरीहरूले बनिबुतो गरेर कमायौं। तर, अहिलेसम्म कुनै सम्पत्ति जोड्न सकेको छैन। अब त झन् बुढ्यौलीले छोयो। खै अब के नै गर्न सकिन्छ र ?’
अर्का विनोद सदाले गरिबलाई केही नहुने बताए। ‘हामी दिनमा खान्छौं, रातमा पुग्दैन। रातमा खान्छौं दिनमा पुग्दैन’, उनले आफ्नो फुसको घर देखाउँदै भने, ‘वर्षौंदेखि हाम्रो घर यस्तै छ।’ जनकपुरधाम–७ जानकी नगरमा मुसहर समुदायको बसोबास वर्षौं भयो। तर, न गतिलो ओत त न त आङ ढाक्ने कपडा नै। काम पाएको दिन चुल्हो बल्छ। नत्र भोकै सुत्न विवश हुन्छन्।
आर्थिक नगरी वीरगन्ज, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्ग र द्रुतमार्गले पनि यस प्रदेशलाई छुने भएकाले आर्थिक आधार बन्ने सम्भावना प्रशस्त रहेको मधेसका सभामुख रामचन्द्र मण्डल बताउँछन्।
करिब ५० परिवार मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन्। ‘पैसा भए पो पठाउनु १ विद्यालय पठाउन पैसा लाग्छ। यिनीहरूलाई खुवाउन त पैसा हुँदैन’, पुलकित सदाले भने। स्थानीय जानकी विद्यालयमा पढ्न पठाउने गरे पनि शिक्षक नै नआउने उनको गुनासो छ। यी त प्रतिनिधि पात्र भए। देशका सात प्रदेशमध्ये सबैभन्दा बढी गरिबी मधेसमा देखिएको छ। सरकारी तथ्यांक नै भन्छ, ‘मधेसमा गरिबीको दर उच्च छ।’ प्रदेशको मानव विकास सूचकांक प्रतिवेदनमा पनि यो प्रदेशमा गरिबीको अवस्था धेरै खस्किएको उल्लेख छ। प्रदेश नीति तथा योजना आयोगको दस्तावेजले सबैभन्दा बढी बहुआयामिक गरिबीदर झन्डै ४८ प्रतिशत देखाएको छ।
आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबीदर ४७.९ प्रतिशत रहेको उल्लेख छ। समग्र देशको बहुआयामिक गरिबी २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा सातै प्रदेशमध्ये मधेस दोस्रो नम्बरमा छ। बहुआयामिक गरिबी भन्नाले हरेक दृष्टिकोणबाट पछि परेको समूहका गरिबलाई जनाउँछ। बस्ने, खाने, लगाउनेदेखि बिरामी हुँदा उपचारसम्म गराउन नसक्ने अवस्थालाई यो सूचीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस