काठमाडौं । चालु खर्च धान्न नसक्ने गरी कमजोर बनेको गएको सरकारले चालु आर्थिक वर्षको सातौँ महिना पुरा हुँदा समेत राजश्व संकलनको लक्ष्यमा निकै पछि रहेको देखिएको छन्। आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको तथ्याङक चालु आर्थिक वर्षको सात महिनाको राजस्व संकलन विवरणमा यस्तो देखिएको हो ।
विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्ममा २ खर्ब ५२ अर्ब ८३ करोड ७५ लाख ५७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जबकि सरकारले यस अवधिमा ३ खर्ब २० अर्ब ७९ करोड ८४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यस अवधिमा लक्ष्यको ७८.८२ प्रतिशत मात्र राजस्व संकलन भएको हो । गत वर्ष सोही अवधिमा विभागले २ खर्ब ५६ अर्ब ६३ करोड १६ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागले यस अवधिमा आयकरबाट १ खर्ब ४८ अर्ब ८४५ करोड २९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ खर्ब ७ अर्ब ९७ करोड ७१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले गत वर्षको सोही अवधिमा उक्त शीर्षकबाट १ खर्ब १८ अर्ब ३९ करोड ९१ लाख ६ हजार ३१८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यस्तै, विभागले घर बहाल करबाट १ अर्ब ९२ करोड ७९ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ४८ करोड ५३ लाख एक हजार रुपैयाँ संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको सोही अवधिमा एक अर्ब ६८ करोड २७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व संकलनमा कमी आएको हो ।
यस्तै, यस अवधिमा विभागले ब्याजबाट २७ अर्ब १२ करोड ९३ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा २२ अर्ब ३९ करोड ९९ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन लक्ष्यको ८२.५७ प्रतिशत मात्र हो । गत वर्ष सोही अवधिमा १६ अर्ब १७ करोड ३३ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागका अनुसार सरकारले भ्याटबाट ७२ अर्ब ३० करोड १४ लाख तीन हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६० अर्ब १८ करोड १८ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो शीर्षकमा लक्ष्यको ८३.२४ प्रतिशत राजस्व संकलन गरेको हो । गत वर्षको सोही अवधिमा ६२ अर्ब ३३ करोड ८० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, अन्तःशुल्क शीर्षकबाट यस अवधिमा विभागले ६६ अर्ब ४० करोड ३२ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ५५ अर्ब ८५ करोड ७ लाख ९३ हजार रुपैयाँ संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । जुन लक्ष्यको ८४.११ प्रतिशत हो । गत वर्षको सोही अवधिमा ५४ अर्ब १५ करोड २० लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
स्वास्थ्य सेवा शीर्षकमा पनि राजस्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल परेको छ । यस अघि स्वास्थ्य शीर्षकमा सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो । यस पटक भने स्वास्थ्य सेवा तर्फबाट समेत राजस्व संकलनमा सरकार चुकेको देखिन्छ ।
विभागले यस अवधिमा स्वास्थ्य सेवा शीर्षकबाट ४ अर्ब ११ करोड १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ४ अर्ब ६ करोड ६ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९८.७६ प्रतिशत हो । गत वर्षको सोही अवधिमा उक्त शीर्षकमा विभागले ३ अर्ब ५१ करोड ८१ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आवको माघ महिनासम्म राजस्व संकलनमा शिक्षा शीर्षकमा मात्रै लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । यस अवधिमा यो शीर्षकमा ८७ करोड २० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गर्ने विभागको लक्ष्य रहेको थियो । जबकि सरकारले ८८ करोड १८ लाख ३३ हजार पैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको १०१.१२ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस