aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गोँगबु घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
गोँगबु घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदरुले यही फागन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनीहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए । सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शङ्कर भण्डारीले गत फागुन १ गते गोँगबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद ज्ञानबहादुर शाहीले काठमाडौँको गोँगबुको घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको वयवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराह मन्दिरमा नदी कटानले सङ्कटग्रस्त हुँदै गएको जनाउँदै यसको संरक्षणको माग गरे । सांसद सन्तोष चालिसेले शिवपुरी आरक्ष क्षेत्रमा रहेको चेकपोष्टका कारण स्थानीयले गाउँबस्ती जान पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाउँदै ‘चेकपोष्ट’ तत्काल हटाउन माग गरे ।  

प्रतिक्रिया दिनुहोस