काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । महासंघका अध्यक्ष भरत भट्टराईको नेतृत्वमा बुधवार गएको व्यवसायीहरूको टोलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
सोमबार यातायात मजदुरहरूको प्रदर्शनका क्रममा ल्होत्से मलमा सञ्चालित मोबाइल पसलमा लुटपाट भएको थियो । पसलको सिसा र सटर तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सिसिटिभी फुटेजसमेत सार्वजनिक भएको छ ।
उक्त घटनापछि मोबाईल व्यवसायीहरू विक्षिप्त भएको बताउँछन् । बुधवार प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको पत्रमा व्यवसायीहरूले भनेका छन्, ‘आफ्नो अधिकार स्थापित गर्न अरूको अधिकार हनन् गर्न पाइन्छ र ? यही सर्वमान्य प्रजातान्त्रिक संस्कार उल्लङ्घन गर्दै कैयौंपटक कैयौँ समूह वा संस्थाले गरेका आन्दोलनको मार हामीले खेप्दै आएका छौँ । तर, यस पटक हामी विक्षिप्त भएका छौँ । निराश भएका छौँ ।’
फागुन १ गते यातायात मजदुरहरूको आन्दोलनका क्रममा गोंगबु बसपार्कभित्र रहेको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाईल पसलमा आपराधिक र लुटपाटको शैलीमा गरिएको तोडफोडका कारण ती पसलभित्र रहेका मोबाईल, ल्यापटप र संरचना गरी अनुमानित ८ करोड बराबरको क्षति बेहोरेको महासंघले जनाएको छ । यसबाट समग्र मोबाईल व्यवसायीहरू यति बेला स्तब्ध भएको व्यवसायीको भनाई छ ।
‘निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको छ । दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाऊँ ? यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्न सक्ने अवस्थाको प्रत्याभूतिको लागि अनुरोध गर्दछौँ’, ध्यानाकर्षणमा महासंघले भनेको छ ।
क्षतिको आँकलन गर्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनका नाममा लुटपाट तथा आपराधिक क्रियाकलाप गर्नेहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत महासंघले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । न्याय प्राप्त गर्नकै लागि आन्दोलनमा जानुपर्ने अवस्था आउने वातावरण नबनाउने मोबाइल व्यवसायीहरूले आग्रह गरेका छन् ।
वर्षेनी ४० अर्ब भन्दा बढी राज्यले राजश्व उठाउने ठूलो श्रोत मानिएको मोबाईल व्यवसाय पनि मुलुकको आर्थिक जटिलताकाबीच बडो सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको व्यवसायीको भनाई छ । मुलुकभर छरिएर रहेका २५ हजार स्वरोजगार मोबाईल व्यवसायीलाई सङ्गठित गर्दै सबैको छाता संस्थाका रूपमा निरन्तर क्रियाशील नेपाल मोबाईल व्यवसायी महासंघमा ५० हजार भन्दा बढी रोजगार छन् । पाँच लाख बढी आश्रित छन् । त्यसैले पनि यो व्यवसायलाई दिगो, मर्यादित, व्यवस्थित बनाउनु पर्ने उनीहरूको भनाई छ ।
प्रतिक्रिया दिनुहोस