aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कमिसन खाएर प्रदेशसभा सदस्यको खाता खोल्न लागेको भन्दै सांसदको धर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
कमिसन खाएर प्रदेशसभा सदस्यको खाता खोल्न लागेको भन्दै सांसदको धर्ना

काठमाडौं । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो ।

सो सहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलले मेगा बैंकका प्रतिनिधिलाई बोलाएको थियो । तर सुरक्षाकर्मीले एनएमबी बैंकबाहेक अरू बैंक प्रतिनिधिलाई आदेश छैन भनेर प्रवेश गर्न नदिएपछि विवाद उत्पन्न भएको हो ।
 
प्रहरीले बिहान ११ बजेदेखि २ बजेसम्मसभा सञ्चालन नभएसम्म ती बैंक प्रतिनिधिलाई भित्र छिर्न नदिएपछि कांग्रेसका प्रदेशसभा सदस्यले प्रदेशसभाको मूल गेटमा उभिएर धर्ना दिए । आफ्नो अतिथिलाई प्रवेश गर्न नदिइएको भनेर कांग्रेसका प्रदेशसभा सदस्यले सभा अवरूद्ध गरेपछि १० मिनेटका लागि सभा स्थगित गरिएको थियो । 

सभा अवरूद्धकै क्रममा सभामुख रामचन्द्र मण्डलले अतिथि भन्दै कसैले बम लिएर आएमा त्यसलाई कसरी छिर्न दिने भन्ने अभिव्यक्ति दिएपछि कांग्रेस सभा सदस्यले सदनभित्र सभामुख जस्ता जिम्मेवार व्यक्तिले अराजक अभिव्यक्ति दिनु गलत रहेको भन्दै सदनभित्रै विरोध जनाएका थिए । पछि सभामुख मण्डलसँग आफूखुसी जुन बैंकमा खाता खोलाउनुछ खोलाउनु भन्ने सहमति भएपछि बैठक सञ्चालन भएको हो ।
 
उता, कांग्रेस प्रदेशसभा सदस्य शेषनारायण यादवले कमिशनका लागि सभामुखले पदीय अहं देखाउँदै एनएमबी बैंकमा खाता खोल्न तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए । प्रदेशसभा सदस्य यादवले भने, “कहीँकतै कानूनी व्यवस्था छैन, सभामुखले भनेकै बैंकमा खाता खोल्नुपर्छ भनेर हामीलाई लिखित जानकारी पनि छैन, हाम्रो स्वतन्त्रता हो ।”

प्रतिक्रिया दिनुहोस