aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोले जलचर प्राणीलाई झन् असर

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०४ फागुन २०७९
नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोले जलचर प्राणीलाई झन् असर

काठमाडौं । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका माछा, गोहीलगायतका जलचरको पारिस्थितिक प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पु(याएको विज्ञहरूको भनाइ छ। 

काठमाडौँ विश्वविद्यालय जीवविज्ञान विभागकी उपप्राध्यापक डा. रामदेवी तचामोले त्रिशूली नदीमा नियमितजसो खस्ने पहिरोको प्रत्यक्ष प्रभाव नारायणीमा परेको बताइन्। उनले भनिन्, “अहिले नारायणगढ–मुग्लिन सडकखण्डमा झर्ने पहिरोको गेग्रान पनि सिधै त्रिशूलीमा फाल्ने गरिएको छ। यसले जलचरको बासस्थानमै प्रभाव परेको छ।” नारायणीका जलचरको अवस्थाबारे दुई वर्ष अध्ययन गरेकी तचामोले भनिन्, “पहिरोबाट निस्कने बालुवाका कण नदीको सतहमा गएर नदी पुरिँदा त्यहाँको लेउ नासिने अवस्थामा पुगेको छ।”

उहाँका अनुसार नदीको सतहमा हुने लेउ नै माछालगायतका जलचरको प्रमुख आहारा र बासस्थान हो। लेउ नै बन्न नपाउने अवस्था आएपछि यसले जलचरको खाद्य सुरक्षामा पनि चुनौती थपिएको छ। नेपालमा पाइने १२५ प्रजातिका माछामध्ये धेरैजसो नारायणी नदीमा छन्। विशेषतः बग्ने पानीमा रहने धेरै प्रजातिका माछा नारायणीमा पाइन्छन्। घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लभ जीव, पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुरजस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख बासस्थान नारायणी हो। जलचरविज्ञ वेद खड्काका अनुसार बासस्थानमा आएको समस्याकै कारण कतिपय गोहीले पानीमै अन्डा पार्ने गरेका छन्। नदीबाहिरको बगरमा पार्नुपर्ने अन्डा पानीमा पार्दा खेर जाने गरेको उनको भनाइ छ। 

“गोहीले बालुवामा अन्डा पार्‍यो भने त्यो निश्चित दिनमा आफैँ कोरलिएर बच्चा बन्छ तर अहिले त पानीमै फुल पार्न थालेपछि त्यो खेर जाने नै भयो,” उनले भनिन्। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा कति पहिरोमा, कति माटो र ढुङ्गा खस्छन् भन्ने यकिन तथ्याङ्क कतै छैन। यसमा अझै सडक विस्तारका क्रममा काटिने चट्टान पनि नदीमा फ्याँक्ने गरिन्छ। त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान शाखा केन्द्रीय क्याम्पसका उपप्राध्यापक दीपनारायण शाह अहिले नारायणी नदीमा बस्ने जलचरको स्वस्थ्य परीक्षण आवश्यक भएको बताउछन्। 

“माछाको बासस्थानमा परेको प्रभावले यसको जीवनचक्रमै असर परेको हामीले पाएका छौँ,” उनले भने। नियमित झरिरहने होस् वा सडक विस्तारका क्रममा निस्कने माटो र चट्टान नदीमा नफालेर बिक्री गरेमा त्यसबाट आम्दानीसमेत गर्न सकिने उनको तर्क छ। 

फोहोर पनि समस्या
नदीमा बढ्दै गएको प्रदूषण पनि जलचरका लागि चुनौती बनेको छ। नदी किनारमा गरिने फोहोर विसर्जन, देवघाट क्षेत्रमा शवदाह गर्दा हुने प्रदूषण, नारायणगढमा स्टिमरका कारण बढेको ध्वनि प्रदूषण र कतिपय उद्योगले सिधै नदीमा मिसाएको रसायनयुक्त वस्तुले माछामा गम्भीर प्रभाव पारेको छ। 

“नारायणी नदीको पानीको गुणस्तरको अवस्था अहिले खस्कँदो छ,” डा. तचामोले भनिन्, “देवघाटदेखि त्रिवेणीसम्मको अध्ययनमा पनि कतिपय ठाउँमा माछा नै भेटिएको छैन भने भेटिएका ठाउँमा पनि फोहोरमा बस्न सक्ने माछा मात्रै छन्।” फोहोर र कम अक्सिजनमा बाँच्ने हिले, सौरीजस्ता माछा हुन्। नदीमा फालिने प्लास्टिकजन्य फोहोरले त झनै समस्या पार्ने गरेको छ। 

प्रतिक्रिया दिनुहोस