aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

को–को छन् राष्ट्रपतिको सपना सजाउने ? अस्वीकार गर्नेहरु पनि सूचीमा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, ०४ फागुन २०७९
को–को छन् राष्ट्रपतिको सपना सजाउने ? अस्वीकार गर्नेहरु पनि सूचीमा

काठमाडौं । नेपाल ल क्याम्पस पढ्दाका मेरा सहपाठी राजेन्द्र ‘चोथाले’ ले २०४५ सालताका एउटा लघुकथा लेखेका थिए-लौरो! लघुकथाका बादशाह मानिने ओहेनरीको जस्तै चर्चित मानिएको थियो त्यतिखेर त्यो कथा। कथा छोटो तर प्रभाव बुलन्दी थियो। बहुतै चर्चित भयो त्यो। आठ/दश लाइनको त्यो कथाले गहिरो सन्देश प्रवाहित गरेको थियो। त्यो लघुकथाको सार थियो-बाबुले बुढेसकालको सहारा मानेर छोरो हुर्काए। छोरोको विवाह भएपछि ऊ बुहारीको भयो। बूढाले दुःख माने। लौरो टेकेर हिँड्न थाले। त्यसपछि लौरोलाई बुढेसकालको सहारा भन्न थाले। तर एकदिन छोराको छोराले नै बुढेसकालको त्यो सहारा पनि भाँचिदियो।

लौरोलाई नेपाली बोलीचालीको भाषामा टेक्ने आधार, समाएर हिँड्ने बिम्ब र बुढेसकालको सहारा पनि भन्ने गर्छन्। ‘बाँदरको पुच्छर लौरो न हतियार’ भन्ने उखान छ। हिजोआज पाशुपत क्षेत्रमा बाँदरबाट जोगिन जुनसुकै उमेरका मर्निङवाक गर्नेहरूले हातमा लिएर हिँड्ने कठबाँस वा घंघारु वा अरू कुनै कलात्मक लौरो भनेर पनि चिनिन्छ। अघिल्लो पुस्तासम्म गोर्खेलौरो भनेपछि थप अथ्र्याइरहनै पर्दैनथ्यो।

हिमाल-पहाडतिर गाईभैँसी चराउनेहरूले, गोरु जोत्नेले गोरु पड्काउन पनि लौरोको प्रयोग गर्छन्। केटाकेटीमा गुरुहरूले भनेको नटेर्ने विद्यार्थीलाई हत्केला, ढाड र पिँडुलामा सुम्ला बस्ने गरी हिर्काउने र टाउकामा टुटुल्को उठ्ने गरी दण्डित गर्ने पनि लौराले नै हो। पुलिसको लौरो हुलमुल तितरबितर पार्न मात्र होइन, अभियुक्तलाई कायल गराउन अहिले पनि उत्तिकै प्रयोग भैरहेकै छ। गोसाइँकुण्ड लगायतका उच्च हिमाली तीर्थस्थलहरूमा लौरो नटेकी पुग्न गाह्रो हुनाले ‘लौरीबिना’ मा उकालो चढ्नेलाई टेक्न र फर्केर आउनेले त्यसै ठाउँमा लौरो चढाउने हुनाले सधैँ लौरोको खात लागिरहेको हुन्छ। ज्येष्ठ नागरिक आश्रममा सहारा चाहिनेले सहजै उपयोग गर्न सकून् भनेर लौरोको राम्रै जोगाड गरिएको हुन्छ।

टेक्न र कुटपिट गर्न उपयोग भैरहेको लौरो त यतिखेर बहुआयामिक क्षेत्रमा प्रयोग हुन थालेको देखियो। फलानो दलको प्रभाव यति व्यापक छ कि उसले लौरो उठाए पनि चुनाव जित्छ भन्ने कहिलेकाहीँ सुनिन्थ्यो तर अहिले लौरो चुनाव चिह्न भए मात्र चुनाव जितिन्छ भन्ने आहान बनेको पाइयो। गएको स्थानीय निर्वाचनदेखि राजनीतिमा लौरोको महिमा अचम्म लाग्ने गरी बढिरहेको देखियो। लौरो चुनाव चिह्न लिएर उम्मेदवार बने निर्वाचन सहजै जितिन्छ भन्ने विश्वास जताततै पाइयो। काठमाडौँ महानगर र धरान नगरपालिकाको निर्वाचनमा बालेन साह र हर्क सांगपांगले यही लौरोमार्फत कमाल गरेर देखाए। यी दुई विद्रोही उम्मेदवारले देशका ठूला पार्टीका बहुचर्चित उम्मेदवारलाई लौरोको प्रचारबाटै सोत्राम्मै पारे। काठमाडौँ र धरानको प्रचार र प्राप्त सफलताले गर्दा संसदीय निर्वाचनमा लौरो चुनाव चिह्न पाउन प्रतिस्पर्धा भयो। लौरो देशभर परिवर्तनको संवाहकमा दर्ज भयो। संस्थापन पक्षप्रति असन्तुष्टि पोख्ने चुनाव चिह्न नै बन्यो। लौरोले धेरै मैँ हुँ भन्नेलाई नारायणहरि नै पारिदियो।

राष्ट्रपति निर्वाचनमा लौरो उम्मेदवार उठाउन खुराफात गरिरहेका नेताहरूको जोडबल चुनाव जित्न लौरोको परंपरागत प्रयोगका निम्ति होइन। यो त आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन पाइयो भने उसलाई रबर स्ट्याम्प बनाउन पाइन्छ भन्ने मनसायबाट प्रेरित छ। अर्थात आफूले चाहेको व्यक्तिलाई राष्ट्रपति बनाउन पाइयो भने उसलाई मन लागे टेक्ने, नलागे थन्क्याएर राख्ने निर्जीव लौरोका रूपमा प्रयोग गर्न पाइन्छ भन्ने मनोगत सोचका आधारमा बनाउन खोजिएको आभाष हुन थालेको छ। तर के राष्ट्रपति भनेको कठपुतली होरु संविधानले राष्ट्रपतिलाई कठपुतलीका रूपमा कल्पनासम्म पनि गरेको छैन। संविधानमा राष्ट्रपतिलाई राष्ट्राध्यक्ष भनिएको छ। राष्ट्रपतिले राष्ट्रिय एकताको प्रबद्र्धन गर्नेछ। संविधान पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। राष्ट्रपति नेपाली सेनाको परमाधिपति पनि हुनेछ।

फागुन २५ गते हुने निर्वाचनमा चौथो राष्ट्रपतिको उम्मेदवार संसद्मा प्रतिनिधित्व गरेका पार्टीहरूले उठाउने हुन्। सांसदको भोटबाट नै राष्ट्रपतिका उम्मेदवारको जितरहार हुने हो। तर राष्ट्रपतिको निर्वाचनमा विजयी भएर सपथ लिइसकेपछि एउटा नेपाली नागरिक देश र जनताको अभिभावक र राष्ट्रिय एकताको प्रतीकका रूपमा रूपान्तरण हुने हो। त्यसपछि जो राष्ट्रपति हुन्छ उसको दल हुँदैन। सिंगो मुलुक र सरकार नै उसको सरकार हुनेछ। राष्ट्रपति पनि सपथ लिएपछि एउटा व्यक्ति होइन, ऊ जीवन्त संस्था बन्छ।

स्वप्निल राष्ट्रपतिका उम्मेदवार

राष्ट्रपतिको उम्मेदवारमा व्यापक चर्चामा आएका नामावली पनि अचम्मका छन्। कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा.रामशरण महत, विमलेन्द्र निधी र बिपी पुत्र शशांक कोइरालाका नामसम्म खेलकुदमा हेलिएका छन्। त्यसैगरी एमालेबाट सुभाष नेम्वाङ, डोरमणि पौडेल, महेन्द्र पाण्डे, गुरु बराल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, काशीनाथ अधिकारी, शान्ता मानवी, सीता पौडेल, केशव बडाल, अमृत बोहोरा, प्रदीप ज्ञवालीसम्मका नाम आइरहेछन्।

त्यस्तै माओवादीबाट डा. बाबुराम भट्टराई, मोहन वैद्य, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, अमिक शेरचन, सिपी गजुरेल, सिपी मैनाली, मोहनचन्द्र अधिकारी समेतको नाम सुनिएको छ। स्वतन्त्रबाट डा. सन्दुक रुइतको नाम यति लिइयो कि उनले म हुन्न भनेर वक्तव्य नै निकाले। डा. भगवान कोइरालाले पनि त्यस्तै प्रतिक्रिया दिए। अन्य नामको लहरमा देवेन्द्रराज पाण्डे, दमननाथ ढुंगाना, कृष्ण पहाडी, कृष्णप्रसाद भण्डारी, सुन्दरमणि दीक्षित, सुरेन्द्र केसीसम्मका नाम स्वप्निल बनाइए। संविधानले बाधा गर्दैनथ्यो भने स्वतः वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नामसमेत चर्चामा आएको थियो।

प्रतिक्रिया दिनुहोस