
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताएकी छिन् । दाङको घोराहीमा सुरु भएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मेलाको आज यहाँ उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताएकी हुन् ।
कृषिको उत्पादन बढाउँदै देशमा बिग्रिएको आर्थिक अवस्थालाई सुधार गर्न सकिने उनको भनाइ छ । मन्त्री शर्माले कृषि उत्पादनलाई बढाउँदै स्वदेशी उत्पादनको प्रयोगमा जोड दिन आग्रह गरिन् । ‘कृषि उत्पादनको वृद्धिसँगै प्रयोगलाई पनि बढाउन आवश्यक छ’, मन्त्री शर्माले भनिन्, ‘त्यसकै बलमा बिग्रिएको आर्थिक अवस्थामा सुधार गर्न सकिन्छ ।’
कृषि उत्पादनले देशको समृद्धिसँगै रोजगारीको अवसर समेत सिर्जना गर्ने उनको भनाइ छ । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न राज्यको तर्फबाट आफुले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
दाङ कृषि क्षेत्रका लागि धेरै सम्भावना बोकेको जिल्ला रहेको भन्दै मन्त्री शर्माले प्रविधिको प्रयोग गरेर कृषिको विकासमा लाग्न किसानलाई आग्रह गरिन् । त्यसका लागि किसानलाई सहयोग गर्ने उनले बताइन् ।
मन्त्री शर्माले दाङको पहिचानका रुपमा रहेका अल्लोका सामग्री, माटाका भाँडा, ढकिया, पटकीजस्ता उत्पादन बढ्दैगएको भन्दै यी सामग्रीको प्रवद्र्धन गर्न महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
स्थानीयस्तरबाट उत्पादन गरिएका सामग्रीहरूको प्रचारप्रसार गरेर बजारीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । अर्को प्रसङ्गमा मन्त्री शर्माले विकास निर्माणका लागि राजनीतिक पूर्वाग्रह गर्न नहुने बताइन् । ‘निवार्चनमा प्रतिस्पर्धा हुन्छ, विकास निर्माणमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ’ उनले भनिन्, ‘विकासमा सहकार्य गरौँ, राजनीतिमा प्रतिस्पर्धा गरौंला ।’
प्रतिक्रिया दिनुहोस