
काठमाडौं । भारतले नेपालमा मुख्यतः दुई प्रमुख विषयमा चासो राखेको पाइएको छ। पहिलो राजनीतिक स्थायित्व र दोस्रो आर्थिक समृद्धि।
राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतृत्वसँगको भेटमा भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पनि भारतले नेपालमा राजनीतिक स्थायित्व हेर्न चाहेको बताए। उनले त्यस क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र खस्किँदै गएको अर्थतन्त्रको विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूसँग छलफल चलाएका हुन्।
विदेशसचिव क्वात्राले नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेतासँग भेट गरेका थिए। ती भेटमा विदेशसचिव क्वात्राले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको विषयमा पनि चासो राखेको स्रोतले बताएको छ। उनले शीर्ष नेतृत्वसमक्ष भारतले नेपालको विकास र आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व होस् भन्ने चाहेको धारणा राखेका थिए।
कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटे पनि क्वात्राले सन्देश भने एउटै दिन खोजे। त्यो हो जो राष्ट्रपति बने पनि भारतलाई केही फरक पर्दैन तर भारत सधैं नेपालमा राजनीतिक स्थायित्व चाहन्छ। क्वात्राको भनाई उद्धृत गर्दै एक शीर्ष नेताले अन्नपूर्ण पोस्ट्सित भने, ‘नेपालका राजनीतिक दल र नेताहरूले मिलेर राष्ट्रपति छान्नुहोस्, तपाईंहरू सक्षम हुनुहुन्छ। नेपालमा स्थायित्व कायम गर्न भारतको सहयोग सदैव रहन्छ।’
नेपालको आन्तरिक राजनीतिक मामिलामा बेलाबेला हस्तक्षेप गर्ने गरेको आरोप भारतमाथि लागे पनि उसले त्यसलाई नकार्दै आएको छ। ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भारतले अस्वाभाविक चासो राखेको छैन’, कांग्रेसका एक नेताले अन्नपूर्ण पोस्ट्सित भने, ‘विदेशसचिवको भ्रमण आर्थिक विकास र द्विपक्षीय हितमा केन्द्रित रह्यो।’
नेपालमा भारतीय राजदूतको जिम्मेवारी सम्हालिसकेका क्वात्राले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र त्यसका लागि अहिले भइरहेका सम्भावित समीकरणबारे चासो राख्नु स्वाभाविक भएको ती नेताको भनाइ छ। परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी हुन आएका क्वात्राले उनका समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग पनि द्विपक्षीय छलफल गरे।
क्वात्राले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग पनि भेट गरेका थिए। त्यस क्रममा समसामयिक राजनीति अवस्था र आर्थिक विकासबारे छलफल भएको नेता खाँणले बताए। अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा भारतलाई सहयोगका लागि आग्रह गरेको उनले सुनाए।
प्रतिक्रिया दिनुहोस