aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

तस्करको निशानामा सालक परेपछि जोगाउनै मुश्किल

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, ०४ फागुन २०७९
तस्करको निशानामा सालक परेपछि जोगाउनै मुश्किल

काठमाडौं । संसारभर चोरी सिकारीबाट अति संकटापन्न वन्यजन्तु सालक संकटमा पर्ने गरेको छ । एसिया र अफ्रिकामा हाल आठ प्रजातिका सालक अस्तित्वमा रहेका छन् । तीमध्ये नेपालमा कालो खपटा भएको चाइनिज प्यांगोलिन र फुस्रो खपटा भएको इन्डियन प्यांगोलिन पाइन्छ । जसमा चाइनिज प्यांगोलिन विश्वकै अति संकटापन्न सूचीमा रहेको छ ।

नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो । पछिल्लो समय सालकको चोरी तस्करी हुँदा नेपालमा पनि यसलाई जोगाउन संकट परेको छ । प्रहरीको अनुसन्धान ब्युरोको तथ्यांकनुसार सालक मारिने र जफत हुनेक्रममा २०६९ सालदेखि हालसम्म सालकको खपटा मात्रै १ सय ५० केजीभन्दा बढी जफत भएको छ ।

विश्वमा ५ मिनेटको फरकमा मारिन्छन् सालक
जफत भएकामध्ये खपटासहितको छाला १० थान, जीवित सालक दुई थान र मृत सालक एक थान समातिएको प्रहरीले जनायो । प्रहरीले चलाएका २० वटा अपरेसनमा २९ महिला र पाँच पुरुष पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पछिल्लो १० वर्षमा विश्वमा १० लाख सालक मारिएको आईयूसीएनको तथ्यांक छ । प्रत्येक ५ मिनेटमा विश्वमा एउटा सालक मारिने गरेको विज्ञको भनाइ छ । विज्ञका अनुसार सन् २०११ को वन्यजन्तु जनगणना अनुसार नेपालमा सालकको संख्या ५ हजारको हाराहारीमा रहेको छ । विश्वभर सालकको तस्करी बढेपछि साईटिस अभिसन्धिले अति संकटापन्न वन्यजन्तुको अनुसूची २ बाट १ मा राखेको छ ।

सालकको तस्करी चीनमा हुने भएकाले पछिल्लो समय सालक तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ नेपाल रहेको सालकविज्ञ अम्बिका खतिवडाको भनाइ छ । एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको मृत्युदर करिब ७० प्रतिशत रहेको छ । अर्थात् जन्मिएका बच्चाहरूमा ३० प्रतिशत बच्चा मात्र बाँच्ने भएकाले प्राकृतिक रूपमै यसको संख्यामा कमी हुँदै गइरहेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस