
वीरगञ्ज । सरकारको नीतिगत संरक्षण प्राप्त अर्धप्रशोधित फलाम आयात उल्लेख्य बढेको छ । अर्थ मन्त्रालयले गतवर्ष तयारी बिलेटको सट्टा स्पन्ज आइरनको आयातलाई प्रोत्साहनको नीति लिएको थियो । देशका ठूला फलाम उद्योगले कच्चा पदार्थ भित्र्याउने मुख्य नाका वीरगञ्जबाट यस्तो आयात बढेको हो । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारको तथ्यांकले स्पन्ज आइरनको आयात बढेको देखाएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानले उक्त नीतिगत व्यवस्था लागू भएयता स्पन्ज आइरनको आयात उल्लेख्य परिमाणले बढेको जानकारी दिए । स्पन्ज आइरन डन्डी उत्पादकले प्रयोग गर्ने बिलेट बनाउन प्रयोग हुन्छ ।
बिलेटबाट फलामे डन्डी उत्पादन हुन्छ । विगतमा आयातकर्ताले भारतबाट ठूलो परिमाणमा बिलेट भित्र्याउने गरेका थिए । अहिले ठूला उद्योगले स्पन्ज आइरनबाट बिलेट बनाउने भट्टीमा आधारित प्लान्ट स्थापना गरिसकेका छन् । यस्ता उद्योगले कवाडी फलाम पगालेर बिलेट बनाउँछन् ।
कवाडी फलामबाट बिलेट बनाउँदा त्यसको गुणस्तर कायम गर्न निश्चित परिमाणमा स्पन्ज आइरन मिसाउनुपर्ने हुन्छ । सरकारले तयारी बिलेटको सट्टा स्पन्ज आइरन ल्याएर ‘भ्यालू एडिसन’को नीति लिएपछि त्यसको प्रभाव आयातमा देखिएको हो । चालू आर्थिक वर्ष (आव) २०७९/८० को ६ महीनामा सुक्खा बन्दरगाह भन्सारबाट मात्रै २२ अर्ब रुपैयाँको ३ लाख ८३ हजार मेट्रिक टन स्पन्ज आइरन भित्रिएको छ ।
अघिल्ला वर्षहरूमा आयातको अग्रस्थानमा रहने बिलेट भने १ लाख २३ हजार टनमा खुम्चिएको छ । भन्सार महशुल १ प्रतिशतमा झारिए पनि आयात परिमाण उल्लेख्य भएकाले स्पन्ज आइरन बढी राजस्व दिने वस्तुको सबैभन्दा अग्रस्थानमा रहेको भन्सारको तथ्यांकले देखाउँछ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले स्पन्ज आइरनबाट चालू आवको ६ महीनामा १ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको सूचना अधिकारी न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस