aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

भोजभत्तेर तथा रेष्टुरेण्टमा गुणस्तरहीन बियरको कारोबार !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
भोजभत्तेर तथा रेष्टुरेण्टमा गुणस्तरहीन बियरको कारोबार !

काठमाडौं । भोजभत्तेर तथा रात्रिकालीन रेष्टुरेण्टमा गुणस्तरहीन पेयपदार्थको कारोबार हुने गरेको आशंका गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको हो । 

सोहि आशंकामा विभागले बजार अनुगमनलाई तिव्रता पारेको छ । अनुगमनका क्रममा विभागले ठूलो परिणाममा बियर जफत गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो । जुन ८२ लाख रुपैयाँ बराबरको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ । 

बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनका अनुसार मङ्गलबार काठमाडौँको धुम्बाराहीस्थित याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै, बुधबार सिनामङ्गलमा रहेको संस्कार ट्रेडर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरेको थियो । उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ । बुधबार नै विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, काल्सवर्ग ब्राण्डका तीन सय दुई कार्टुन बियर बरामद गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए । 

‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन समेत अनुरोध गरिएको छ । विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्रि नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस