काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरू भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको अन्तिम परीक्षण कार्य आजदेखि शुरू भएको हो ।
काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकाङ्श क्षेत्रमा विच्छ्याइएका एक हजार १० किलोमिटर खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका करिव ५५० किलोमिटर पाइपलाइनको आजदेखि चरणवद्धरूपमा अन्तिम परीक्षण गर्ने कार्य शुरू भएको हो ।
जसअनुसार काठमाडौंका गौशाला, पुरानो बानेश्वर, सूर्यविक्रम ज्ञवाली सडक र पिङ्गलास्थानमा रहेका जम्मा ७०१ घरमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको अन्तिम परीक्षण कार्य आजदेखि शुरू भएको छ ।
अन्तिम परीक्षण शुरू भएका स्थानका घरहरूमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको परीक्षणका लागि दुई दिन दुई रात अर्थात ४८ घण्टासम्म खानेपानी पाइपमा अधिक मात्रामा क्लोरिन मिसाइएको पानी राखिने गरिन्छ ।
परीक्षणका लागि पाइपमा राखिएको अधिक क्लोरिन मिसाइएको पानी व्यक्तिगत प्रयोग तथा घरायसी प्रयोजनका लागि समेत हानिकारक हुने भएकाले प्रयोग नगर्न र परीक्षण अवधिभर धारा नखोली नयाँ पाइपलाइनको अन्तिम परीक्षणमा सहयोग गर्न समेत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस