
नयाँदिल्ली । टाटा समूहको स्वामित्वमा रहेको भारतको एयर इन्डियाले एकसाथ ४७० यात्री विमान किन्न गरेको सम्झौताले अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकले खुसी व्यक्त गरेका छन् । सरकारी स्वामित्वको एयर इन्डिया कम्पनीको सेयरको ठूलो हिस्सा गत वर्ष टाटा समूहले किनेको थियो ।
एक वर्षयता टाटाले नै एयर इन्डिया कम्पनी सञ्चालन गर्दै आएको छ । टाटाले एयर इन्डियालाई विश्वस्तरको वायुसेवा कम्पनी बनाउने तयारीअनुसार एकैसाथ यति धेरै विमान किन्न लागेको बताइएको छ ।
यति ठूलो संख्यामा विमान खरिदको सम्झौता हवाई जगत्मै सबैभन्दा ठूलो मानिएको छ । बीबीसीका अनुसार सन् २०११ मा अमेरिकन एयरलाइन्सले ४५० विमान खरिदको अर्डर गरेको थियो । एयर इन्डियाले किन्ने विमानमा अमेरिकी बोइङ कम्पनीको संख्या २२० तथा युरोपको एयरबस कम्पनीका २५० विमान छन् । विमानसँगै सयौं इन्जिन पनि एयर इन्डियाले किन्दै छ । एकै पटक ठूलो परिणाममा गरिएको बिजनेसले अमेरिका तथा युरोपमा लाखौं मानिसले रोजगारी पाउने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एयर इन्डियासँगको सम्झौताले अमेरिकामा ४४ राज्यका १० लाखभन्दा बढीले रोजगारी पाउने भन्दै खुसी व्यक्त गरेका छन् । रोजगारीका लागि कसैलाई चार वर्षको कलेजको डिग्रीको आवश्यकता नपर्ने उनले बताएका छन् । विमान खरिदको सम्झौताले अमेरिका र भारतबीचको आर्थिक समझदारीको शक्तिलाई प्रदर्शन गरेको उनको भनाइ छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले पनि विमान खरिदको सम्झौताप्रति खुसी व्यक्त गरेका छन् । भारत र फ्रान्स रणनीतिक साझेदारको एक नयाँ चरणमा प्रवेश गरेको उनले बताएका छन् । विमान र सयौं इन्जिन खरिद सम्झौताले फ्रान्स, जर्मनी, बेलायतलगायतका देशमा पनि लाखौंको रोजगारी सिर्जना हुने आशा गरिएको छ । मंगलबार विमान खरिदको सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति वाइडेन र प्रान्सका राष्ट्रपति म्याक्रोँसँग भिडियो कन्फ्रेन्समा वार्तासमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस