aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सिरहामा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
सिरहामा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, सप्तरीको आयोजनामा यही फागुन २ गतेदेखि ५ गतेसम्म सिरहाको लहानमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम आयोजना गरिएको छ ।

तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी कानूनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ मा भएका प्रमुख व्यवस्था, कृषिबीमालाई प्राथमिकता दिन दिइएका निर्देशन लगायतका बारेमा जानकारी दिएका थिए । 

कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको महत्व र सरकारबाट कृषिबीमामा उपब्ध हुँदै आएको अनुदानका बारेमा चर्चा गरेका थिए । विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदीले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा गर्ने विधि र दाबी भुक्तानी प्रक्रियाका बारेमा जानकारी दिएक थिए ।   

तालिममा सहभागीहरूलाई उत्पादनमा आधारित कृषिबाली, तरकारीबाली, माछा, च्याऊखेती, ब्रोइलर कुखुरा, पशुधन, मौरी, अमिलो जातका फलफूल लगायतका बीमा लेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिइएको थियो । तालिम समापन कार्यक्रममा सहभागीहरूलाई नेपाल बीमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अधिकर्ताको व्यवस्था, बीमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया र बीमा अभिकर्ताका लागि आचारसंहिताका बारेमा जानकारी दिनुका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस