
काठमाडौं । माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालीकोटको पिली कोपको सुक्खा डाँडो आगोले खाएर कालो बनेको छ यतिखेर । कोप डाडोलाई हरियाली बनाउन स्थानीयले तीन वर्षअघि रोपेका लेप्टिस, बकाइनो, खयर, सल्लो, सिसौलगायतका ५ हजार बढी बिरुवा माघ पहिलो साता लागेको आगोले जलेपछि स्थानीय दुःखी छन् ।
१० वर्षे जनयुद्धले थलिएको पिलीको उजाड डाँडो हरियाली बनाउन दुःख गरी आफ्नो पालामा बिरुवा रोपे पनि यतिखेरको आगलागीबाट जोगाउन नसकेकोमा खाडाचक्र ७ पिलीका निर्वमान वडाध्यक्ष रजबहादुर मल्लको मन कुँडिएको छ । गाग्रीमा पानी बोकेर जगाएका बुट्यान सबै मरे ।
उनको गुनासो छ ‘वन डढेको सबैले देखे तर मन डढेको कसैले देखेनन् ।’ पिलीलाई सरकारले युद्ध पर्यटकीय क्षेत्र घोषणा गरेर कार्यान्वयनमा ढिलाइ गरेकोमा उनको चित्त दुखाइ छ । युद्ध पर्यटकीय क्षेत्र बनाउने घोषणा भएको एक दशक पुग्न लाग्यो । उनले थपे, ‘काम जहाको त्यही छ ।’ हालसम्म युद्ध पर्यटकीय क्षेत्र पिलीको नाममा ३ करोड रुपैयाँ खर्च भए पनि देखिने उपलब्धि छैन । बनेको संरचना पनि जीर्ण हँुदै गएको छ । कोप डाडामा बनाएको ४ कोठे प्रशासनिक भवन गएको असोजको वर्षाले क्षतिग्रस्त छ भने शौचालय प्रयोग नहुँदै जीर्ण बनेको छ ।
कुनैबेला प्रहरी र सेना देख्नेबित्तिकै पिलीबासी कोही घरभित्र लुक्थे त कोही जंगलमा कुद्थे । माओवादी कार्यकर्ता पनि गाउँ पसे कसैलाई भूमिगत हुन कर गर्ने हुन वा श्रम गर्न खटाउने हुन भनेर पिरलो हुने गथ्र्यो । सशस्त्र द्वन्द्वको अन्तिम फौजी हमलाको सिकार बनेको थियो पिली । खरानी भएको पिलीको समृद्धिका लागि प्रयास भइरहेको भए पनि सार्थकता पाउन नसकेको स्थानीयको गुनासो छ । ‘हाम्रा दुःख त उस्ताइ (उस्तै) छन् । ५० वर्षीया मिमकोशा मल्लले भनिन्, ‘सुखका दिन आउन्याछन् भन्नाछिया ९आउँछन् भन्थे०, झुटा रयाछन् ।’ उनले व्यवस्था फेरिएको भन्दा सडक पुगेपछि गाउँमा केही सहज भएको पनि सुनाइन् ।
केही भएन भन्नेमा छिमेकी लक्ष्मीकला कार्की सहमत छैनन् । ‘केही भएन भनांै भने महिला अगुवा लाग्न पाएका छौं,’ उनले भनिन् । हालै गठित मेघमती आवि व्यवस्थापन समितिमा सदस्य चुनिएकी ६३ वर्षीया कार्कीले भनिन् ‘पहिलेजस्ता त छैन, गाउँमा रोड पुग्यो, खानेपानी आयो, अलिअलि विकास त भयाकै छ ।
कर्णाली राजमार्ग निर्माणको क्रममा २०६१ चैत्रमा स्थापना गरिएको कर्णाली राजमार्ग सडक निर्माण कार्य दलको क्याम्पमा माओवादीले देशभरको शक्ति केन्द्रित गरी पिली क्याम्पमा २३ साउन २०६२ मा आक्रमण गर्दा सेनाले ठूलो संख्यामा मानवीय र भौतिक क्षति बेहोर्नुप¥यो । पिली आक्रमणमा सडक खन्न भर्ना गरिएको अर्धसैनिकसहित तत्कालीन शाही नेपाली सेनाका ७५ जनाले ज्यान गुमाए ।
स्थानीय रासन ठेकेदार शक्ति मल्लको माओवादीले टाउको काटे भने वारी पिलीबाट सेनाले हानेको गोली लागेर तिला नदी पारी औलगेलाका करे घर्तीले पनि ज्यान गुमाए । पिलीमा माओवादीतर्फ पनि दुई दर्जन बढीले ज्यान गुमाए । कैयौं घाइते भए । घटनाको तीन दिनपछि मात्र सरकारी फौज पिली पुग्न सकेको पिलीमा तत्कालीन पश्चिम डिभिजन कमान्डर जनार्दन शर्माको नेतृत्वमा ठूलो मात्रामा सेनाको अत्याधुनिक हातहतियारसहित ६२ जना सेनालाई नियन्त्रणमा लिएर एक महिनापछि जाजरकोटबाट छाडिएको थियो ।
प्रतिक्रिया दिनुहोस