काठमाडौं । विभिन्न कसुर र अपराधमा संलग्न भएको ठहर भई अदालतले जेल पठाएका ३९५ जनालाई छोडिने भएको छ । भोली फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर उनीहरुलाई आममाफी दिई छुटाउन लागिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको कैद मिनाहा गरेसँगै उनीहरु जेलबाट छुट्ने बाटो खुलेको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले शुक्रबार बेलुका एक विज्ञप्ति जारी गरी सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीहरुलाई आममाफी दिन लागेको उल्लेख गरेका छन् ।
विभिन्न अदालतबाट भएका फैसलाबमोजिम लागेको सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम माफी दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । प्रजातन्त्र दिवसको अवसरमा उनीहरूको कैद मिनाहा हुने छ ।
यही प्रक्रियाबाट नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पनि छुट्ने भएका छन् । माघ १९ गते बाँकेबाट पक्राउ परि २० गते कैलाली जिल्ला अदालतबाट कारागार चलान भएका चौधरीलाई आममाफी दिएर छुटाउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस