
काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले अब आफुपनि सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन्। फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीको नाममा सन्देश दिँदै उनले यस्तो घोषणा गरेका हुन्। नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने भन्दै उनले राजनीतिमा आउने स्पष्ट पारेका हुन्।
उनले मङ्सिर ४ मा सम्पन्न निर्वाचनको परिणामले आफुलाई उत्साहित बनाएको पनि उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ - हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आकलन गर्न सकिन्छ । विगत बिस वर्षमा दशौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठुलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।
राजनीतिका भन्दा आर्थिक विषयलाई केन्द्रित गरेर ज्ञानेन्द्रले जारी गरेको सन्देशमा मुलुक कुशासन, भ्रष्टाचार, निराश लाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको उल्लेख गरेका छन् । जसमा भनिएको छ - प्रविधिको विकास र अन्तर्राष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षाहरू सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तर्निहित छ। अहिले युवाहरूको हकमा नेपालको इतिहास मै अद्वितीय जनसाङ्खिक लाभांशको चरणबाट गुजिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ ।
युवामा केन्द्रित उनको वक्तव्यमा देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले साथ दिन सक्ने युवा शक्ति निराश हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला तर कडा मेहनत गरि आफ्नो बुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश बनेको उल्लेख गरिएको छ ।
जसमा अगाडी भनिएको छ - देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन्। देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीन दुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्वदेश मै गरिखाने माहौल छैन भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरू अगाडी बढ्न सकेका छैनन् ।
हालको राज्य व्यवस्था नै ठिक नभएको तर्क गर्दै ज्ञानेन्द्रले लेखेका छन् - राज्यसत्ताको बागडोर ज-जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन् । तिनका धेरै कार्यकर्ताहरूमा राजनीतिक छत्रछाया नभई जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ ।
जनता निराश बनेको प्रमाणका रुपमा उनले उल्लेख गरेका छन् - प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरूको आन्तरिक सुधार एवं विकल्पको गुन्जाइस नदेखेको आभास समाजमा उजागर भएको छ। दलहरूले नेपालको निम्न एवं मध्यमवर्गको मुद्धामा मौन रहने प्रवृत्ति बढ्दो छ शासकीय उत्तरदायित्व र गाम्भिर्यको कमी
देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरि कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको छ ।
अब आफू सक्रिय राजनीतिमा आउने उनको महत्त्वपूर्ण घोषणाको अंश भने यस्तो रहेको छ - नेपालको अत्याधिक बहुसङ्ख्यक जनताले चाहेको निर्णय स्विकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौ र देश छोडेर पनि गएनौँ। तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौ यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।
प्रतिक्रिया दिनुहोस