
काठमाडौं । भावी राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धनमा विखण्डनको संकेत फेला परेको छ । गठबन्धनका दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)काबीच भावी राष्ट्रपतिको विषयलाई लिएर गठबन्धनकै भविष्य धरापमा परेको हो ।
गठबन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाबीच निरन्तर भेटघाट र छलफल चलिरहेको भए पनि राष्ट्रपतिमा कुरा मिल्न् सकेको छैन । ओलीले पुस १० गतेको सहमति अनुसार एमालेलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने बताइरहेका छन् भने प्रचण्डले त्यो परिस्थिति अब नरहेकोले राष्ट्रिय सहमति गरेर अगाडि बढ्नु पर्ने अडान लिएका छन् ।
पछिल्लो समय ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने र त्यसमा माओवादीको समर्थन आवश्यक रहेको भन्दै प्रचण्डलाई दबाब दिएका छन् । प्रचण्डले भने पोखरेललाई राष्ट्रपतिमा स्विकार गर्न नसकिने जवाफ दिएको श्रोतको भनाइ रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले ओलीलाई नै पनि राष्ट्रपति बन्न प्रस्ताव गरेका छन् । तर, ओली आफैं पनि राष्ट्रपति बन्न तयार छैनन् । प्रचण्डले एमालेबाटै राष्ट्रपति बनाउने हो भने पनि सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, युवराज ज्ञवाली लगायतका नेताहरुको नाम पनि विकल्पमा लिएको बताइएको छ । तर, ओली राष्ट्रपतिमा पोखरेल बाहेक अरु कसैलाई अघि सार्न तयार छैनन् ।
माओवादीका नेताहरुको सुझाव र प्रचण्डको आफ्नै बुझाइमा पनि पोखरेल तत्काली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताकोसमेत विपक्षमा रहेका थिए । तत्कालीन समयमा पार्टीको कार्यकारी अध्यक्ष रहेका प्रचण्डलाई मान्न् नसकिने भन्दै पोखरेलले सार्वजनिक रुपा अभिव्यक्ति दिने गरेका थिए ।
तत्कालीन नेकपामा विवाद र फाटोका एक कारक पात्र पोखरेल भएको प्रचण्डको बुझाइको कारणले गर्दा उनले राष्ट्रपतिमा ओलीको पूस्तावलाई अस्विकार गरिदिएका छन् । ओली आफ्ना यसम्यान देवराज घिमिरेलाई सभामुख बनाउन सफल भएको र राष्ट्रपति पनि त्यस्तै व्यक्तिलाई बनाउँदा सरकार र पार्टीमाथि नै धराप पर्ने आकलनकाबीच प्रचण्डले पोखरेललाई राष्ट्रपति बनाउन नचाहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस