aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अब ट्विटर प्रयोगकर्ताले पैसा तिर्नुपर्ने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
अब ट्विटर प्रयोगकर्ताले पैसा तिर्नुपर्ने !

एजेन्सी। ट्विटरले टु-फ्याक्टर अथेन्टिकेशन विधिको नयाँ नीति घोषणा गरेको छ। जसअनुसार ट्विटरले अब आफ्नो खाता सुरक्षित गर्न चाहने प्रयोगकर्ताबाट पैसा असुल गर्ने छ। 

नयाँ नीति अनुसार मार्च २० देखि पैसा तिर्ने 'निलो' सदस्यहरूले मात्र टु-फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न सक्नेछन्। कम्पनीले शुक्रबार ट्विट गर्दै लेखेको छ, "मार्च २० देखि ट्विटर 'ब्लू' ग्राहकहरूले मात्र टु-फ्याक्टर प्रमाणीकरण विधिको रूपमा प्रयोग गर्न सक्षम हुनेछन्।"

टु-फ्याक्टर प्रमाणीकरण मार्फत खाताहरूलाई थप सुरक्षित बनाउन खातावालाले पासवर्डको अतिरिक्त दोस्रो प्रमाणीकरण विधि प्रयोग गर्न पाउनेछन्। ट्विटरले हाल पाठ सन्देश, प्रमाणीकरण एप, र सुरक्षा कुञ्जी मार्फत टु-फ्याक्टरलाई अनुमति दिँदै आएको छ।

यसअघि बुधवार कम्पनीले एक ब्लग पोस्टमा फोन-नम्बरमा आधारित टु-फ्याक्टर ह्याकरहरूले दुरुपयोग गरिरहेको उल्लेख गरेको थियो। ट्विटरका मालिक एलोन मस्कले हालै एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै कम्पनीले आफ्नो नीति परिवर्तन गरेको बताएका हुन्।

गत महिना ट्विटरले एन्ड्रोइड र आइओएसका लागि ट्विटर ब्लू सदस्यताहरूको मूल्य प्रति महिना ११ डलर राख्ने बताएको थियो।

यसअघि ट्विटरमा राजनीतिज्ञ, प्रसिद्ध व्यक्तित्व, पत्रकार र अन्य सार्वजनिक व्यक्तित्वहरूको खाता प्रमाणीकरणको लागि नीलो चेक मार्क नि: शुल्क थियो। अब सबै प्रयोगकर्ताले पैसा तिरेर ट्विटरको नीलो सब्सक्रिप्शन किन्दा मात्र चेक मार्क पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस