काठमाडौं । प्रजातन्त्र दिवसको शुभकामना दिने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले निकै गम्भिररुपमा मुलुकको आर्थिक पक्षमाथि टिप्पणी गरे । उनको सो वक्तव्यबारे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना मान्छे देखेर ज्ञानेन्द्र हौसिएको प्रतिक्रिया दिए ।
उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने ज्ञानेन्द्रले नै उठाएको आर्थिक पक्षलाई प्राथमिकतामा राख्दै आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्ने बताएकी छिन् । केही वर्ष अघिसम्म ज्ञानेन्द्र चढेको गाडी अलिक छिटो दौडिदा समेत गणतन्त्रमाथि खतरा देख्ने हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने आर्थिक विषयमा त्यति चिन्तित देखिएनन्, जति ज्ञानेन्द्रको वक्तव्यमा चिन्ता व्यक्त गरिएको छ ।
विद्रोहको डरले युवा लखेटेको आरोप
ज्ञानेन्द्रले युवालाई विदेश पलायन हुन बाध्य पारेर आफूविरुद्ध हुन सक्ने विद्रोहलाई कमजोर पार्न खोजेको आरोप दलहरूलाई लगाएका छन् । उनले वक्तव्यमा उल्लेख गरेका छन्, ‘देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला ।’
पूर्व राजा शाहको यो टिप्पणी किन पनि अर्थपूर्ण छ भने अहिले सबैजसो राजनीतिक दलका नेताहरू युवाहरूलाई विदेश तर्फ नै पठाउन उद्धत रहेका छन् । हालैको निर्वाचनमा पूर्व प्रधानमन्त्री माधव नेपालले आफूलाई जिताए निःशुल्क वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिँदै गरेको भाषण ‘बिना ढेवा के’ निकै चर्चित बनेको थियो । तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी तथा नेपाली काङ्ग्रेसकी नेतृ आरजु राणा देउवाले आफ्नो पार्टीलाई भोट दिए हरेक गाउँबाट १० जनालाई मलेसिया पठाइदिने आश्वासन बाडेकी थिइन् ।
नयाँ बनेको सरकारले समेत विभिन्न मुलुकबाट श्रमिकहरूले पठाएको रेमिट्यान्सलाई नै आफ्नो उपलब्धि मान्ने र धेरै भन्दा धेरै युवाहरूलाई विदेश पठाउन सक्नुलाई सफलता ठान्ने खालका गतिविधि देखाइरहेको छ । यो परिपेक्षमा ज्ञानेन्द्रको टिप्पणी तथ्यगत र अर्थपूर्ण देखिन्छ ।
युवाहरू निराश बनेको उनको ठम्याई समेत सही नै छ । उनले भनेका छन्, ‘कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन् । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीन दुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्वदेश मै गरिखाने माहौल नहुनु भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरू अगाडी बढ्न खोज्दै छन् ।’
गम्भीर ज्ञानेन्द्र, उदासीन नेता
आइतबार विराटनगर विमानस्थलमा केपी ओलीले, ‘१५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरूले ? अरू देशहरूको तुलनामा कहाँ पुर्याउनुभएको थियो देश ? १५ वर्षमा कति वटा कुरा मिल्दै होलान्, मिलाउनै पर्ने होला । १५ वर्ष न हो, २५० वर्ष त खाएको छैन होला नि त जनताले ।’ भन्दै गरेको टिप्पणी आफैमा गम्भीर देखिँदैन, जति गम्भिरतापूर्वक मानिसहरूले आत्मदाहको बाटो रोज्न बाध्य परेको अवस्थालाई ज्ञानेन्द्रले उठाएका छन् ।
उता प्रधानमन्त्री प्रचण्डले पनि अमूर्त र सैद्धान्तिक कुरा उठाएर विज्ञप्ति जारी गर्ने कर्मकाण्ड मात्र पुरा गरेका छन् । जबकि ज्ञानेन्द्रको विज्ञप्ति जनतालाई छुने र व्यवहारिक विषयहरूलाई सम्बोधन गर्दै सार्वजनिक भएको छ ।
त्यसै पनि दलीय नेताहरूप्रति बढ्दै गरेको वितृष्णा र त्यस विरुद्धको आवेग थिग्रिने ठाउँ नपाइरहेका बेला ज्ञानेन्द्रले आर्थिक विषयलाई केन्द्रमा राख्दै राजनीतिकरुपमा सक्रियता बढाउने गरी गरिएको घोषणामा युवाहरू आकर्षित हुने सम्भावना देखिन्छ । उनले गएको मङ्सिर ४ को चुनावमा सङ्घीयता विरोधी नयाँ दल र राजतन्त्रको वकालत गर्ने पार्टीप्रति युवाहरूले देखाएको उद्दारतालाई आफ्नो पक्षमा तान्ने सुझबुझपूर्ण प्रयत्न विज्ञप्तिमा गरेका छन् ।
मौन प्रचण्ड र ज्ञानेन्द्रको प्रस्ताव
दश वर्षे जनयुद्धको सर्वाधिक महत्त्वपूर्ण उपलब्धिका रूपमा गणतन्त्र स्थापनालाई चित्रित गर्दै आएका प्रधानमन्त्री प्रचण्डले भने ज्ञानेन्द्रको विज्ञप्तिबारे कुनै टिप्पणी गरेका छैनन । जबकि पूर्व राजा शाहले राजसंस्थाको अपरिहार्यताबारे विज्ञप्ति जारी गर्दा त्यसले सबैभन्दा छिटो छुनु पर्ने प्रचण्डलाई नै हो । बरु बयलगाडा चढेर अमेरिका पुग्नु र दुई चार जना भरुवा बोकेर गणतन्त्र ल्याउने सपना देख्नु उस्तै हो भन्ने टिप्पणी गर्ने केपी ओलीले भने ज्ञानेन्द्रलाई जवाफ दिन भ्याइसकेका छन् ।
‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि त्यो पुरानो झल्को आइराख्छ । त्यो झल्काले, दुईचार जना मान्छे वरपर देख्यो भने उहाँलाई अलिअलि जोस्याउँछ । यति मात्र हो’, आइतबार विराटनगरमा पत्रकारहरुसंग बोल्दै ओलीले भने, ‘कोसँग, केसँग सहकार्य ? ज्ञानेन्द्रजी आएर राजनीतिमा हिँडिराख्नुभएको छ । अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यार । भएकै छ त ।’
उता ज्ञानेन्द्रले भने सिधै सहकार्यको प्रस्ताव राखिसकेका छन्- प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यमा ढिलाइ गर्न हुँदैन ।
त्यति मात्रै होइन उनले दलहरूको कारण नै मुलुक अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको आरोप समेत लगाएका छन् ।
उनको तिखो प्रहार छ, ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन् ।’
यति भन्दै ज्ञानेन्द्रले अब आफू मौनता साधेर नबस्ने घोषणा नै गरिसक्दा समेत मुलुकको कार्यकारी प्रमुख प्रचण्ड किन अहिलेसम्म चुप लागेर बसे ? उनको मौनता अनौठो देखिँदै छ ।
प्रतिक्रिया दिनुहोस