aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेट, देउवा उत्साहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेट, देउवा उत्साहित

काठमाडौं । भावी राष्ट्रपतिको लागि उम्मेदवारी मनोनयन गर्ने समय आउनै लाग्दा दलहरुबीचको दौडधूपको गति बढिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बराबर प्राथमिकतामा भेटघाट गरिरहेका छन् । 

आइतबार राति सभापति देउवा प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पु्गेका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलासहित बालुवाटार पुगेका देउवाले फागुन १३ गते कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने भएकोले सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । 

जवाफमा प्रधानमन्त्री दाहालले सोमबारको पार्टी पदाधिकारी बैठकमा यसबारे छलफल गरेर निर्णय दिने बताएको बुझिएको छ । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । आइतबारको भेटले कांग्रेसमा उत्साह छाएको छ । 

नेकपा (एमाले)ले पुस १० गते भएको सहमति अनुसार राष्ट्रपतिमा माओवादीले आफूहरुलाई समर्थन गर्नुपर्ने बताउदै आएको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई राष्ट्रपतिमा समर्थन गर्न ओलीले प्रचण्डलाई दबाब दिइरहेका छन् । प्रचण्डले भने एमालेलाई राष्ट्रपति दिँदा शक्ति सन्तुलन नमिल्ने बताउँदै राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।

कांग्रेस महामन्त्री थापाले खुल्ला रुपमै फागुन १० गतेभित्र वर्तमान सत्तागठबन्धन तोड्ने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस