
काठमाडौं । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री आए पनि पूर्वमुख्यमन्त्रीले अहिले पनि गाडीसहित अन्य सुविधा प्रयोग गरिरहेका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल, २ वटा ल्यापटपसहितका सामान फिर्ता गरेको छैनन् । उनी अहिले पनि प्रदेश ०२–००१झ–१९३ नम्बरको महिन्द्रा स्कारपियो लिएर घुमिरहेका छन् । सामसुंगका ३ थान, एमसेभेन १ थान र एप्पलको मोबाइल १ थान गरी ५ थान मोबाइल पनि उनले फिर्ता गरेका छैनन् । उनले एप्पलको ल्यापटप पनि वीरगन्जस्थित आफ्नो घर लगेका छन् ।
पूर्वमुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका सामान फिर्ता नगरेको बारे वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई कर्मचारीले जानकारी गराइसकेका छन् । तर, वर्तमान मुख्यमन्त्रीले आफू यस सम्बन्धमा पूर्वमुख्यमन्त्रीसँग कुरो गरेर समान ल्याउने बताएका थिए । त्यो आश्वासन दिएको पनि दुई साता भएको मुख्यमन्त्री कार्यालयका एक जना कर्मचारीले बताएका छन् ।
कर्मचारीले यसबारेमा अनौपचारिक रूपले पूर्वमुख्यमन्त्रीलाई पनि जानकारी दिएका थिए । तर, उनले सामान फिर्ता सम्बन्धमा केही बोलेका छैनन् । पूर्वमन्त्रीको पनि यस्तै अवस्था रहेको छ । केही मन्त्रीले आफ्नो निवासमा कर्मचारीसम्मलाई राखेका छन् । गाडीसहित अन्य सुविधा उपयोग गरिनै रहेका छन् ।
प्रतिक्रिया दिनुहोस