
काठमाडौं । बर्षातमा चुर्लुम्म डुम्ने मध्ये तराईका पर्सा, बारा र रौतहट हेर्ने संघीय सरकार मातहतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले दरबन्दी अनुसारको कार्यालय प्रमुख अझै पाउन सकेको छैन । अढाइ बर्ष अगाडी पर्साको वीरगन्जमा तीन जिल्ला हेर्न स्थापना भएको यो कार्यालयले अझै दरबन्दी अनुसारको कार्यालय प्रमुख पाउन नसकेको हो ।
तीन जिल्ला हेर्ने कार्यालय प्रमुख विहीन
कार्यालयले कार्यालय प्रमुख नै नपाउँदा निमित्तको भरमा मात्र आफ्ना २ सय आयोजना संचालनमा फत्ते गर्न चुनौती थपिएको छ । स्वस्थ पानीको लागि आर्सेनिक परीक्षण, स्वच्छ खानेपानीको लागि ठूला खानेपानीका आयोजना निर्माण र अपर्याप्त ढलको चुस्तता यो कार्यालयको जिम्मेवारीका काम हुन् । तर चालु आर्थिक वर्षमा कार्यालयले सम्पन्न गर्न पर्ने करिब २ सय आयोजनाहरु दुई ईन्जिनियर, ३ सव–ईन्जिनियर, १ प्राविधिक सुब्बा, एक लेखापाल, एक कम्प्युटर अपरेट र एक कार्यालय सहयोगीका भरमा चलिरहेको छ । निमित्त प्रमुखले कार्यालयका प्रमुखले गर्ने सबै काम गर्न नसक्ने त्यहाँका कर्मचारीहरुले गुनासो गरे । ‘एक ईन्जिनियरलाई निमित्त प्रमुख तोकिएको त छ । तर, उनले फिल्डको काम गर्ने कि दैनिक प्रशासनिक कार्यसम्पादनमा ध्यान दिने ?’ एक कर्मचारीले भने ।
‘हामीले विभागसँग दरबन्दी अनुसार कर्मचारी माग गर्ने मात्र हो । त्यो भन्दा थप कुरा हामी गर्न सक्दैनौं’ त्यहाँका निमित्त कार्यालय प्रमुख ई.पुष्पराज सिंहले भने ।
दरबन्दी अनुसारको कर्मचारी नहुँदा अपेक्षा गरे अनुसार कामको पूर्णता हुन त सक्दैन ।’ उनले भने । ‘चालु आर्थिक वर्षमा सम्पन्न गर्न पर्ने काम मध्ये अहिलेकै जनशक्तिको भरमा जम्मा ५० प्रतिशत कटाउन मुस्किल हुन्छ’ उनले भने । ६र७ वटा शिर्षका ठूला आयोजना र ती अन्तर्गत साना–साना आयोजना गरी यो कार्यालयले खानेपानी र ढल व्यवस्थापन तर्फ चालु आ.ब.मा कुल २ सय जति आयोजना सम्पन्न गर्न पर्ने जिम्मेवारी खानेपानी तथा ढल व्यवस्थापन विभागले दिएको छ । तर विभिन्न १९ वटा काम कर्तव्य र अधिकार तोकी युद्धस्तरमा उत्रिएको विभागको लक्ष्य मधेश प्रदेशको तीन जिल्ला हेर्ने कार्यालयले भने सम्पन्न गर्न सकस देखिएको छ ।
ठूला योजना मध्ये पर्सामा १० करोडको खानेपानी ट्याङकी निमार्णको शुक्रबार मात्र टेण्डर गरिएको छ । ओभरहेड, पाईप, बोरिङ्ग र त्यसको कार्यालय विल्डिङ्ग निर्माण गरी फुल प्याकेजमा निर्माण सम्पन्न गर्ने गरी यो योजनाको टेण्डर गरिएको निमित्त प्रमुख ई सिंहले बताए । यस्ता आयोजना मध्ये रौतहटको चन्द्रनिगाहमा १२ करोडको एउटा र बारामा २ वटाको काम थालनी गरिएको उनको भनाइ छ । २०/३० लाखका साना योजनाहरु त अरु पनि संचालन भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस