
काठमाडौं । मानिसले लेखेझैँ प्राकृतिक भाषाको कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स–एआइ) को प्रोग्राम ओपनएआइ जिपिटी सार्वजनिक गरेपछि माइक्रोसफ्ट दंग देखिएको छ। पछिल्लो दशकमा यस प्रकारको प्रविधि निर्माण गर्न सजिलै वित्तीय सहयोग प्राप्त भएकाले कैयन् कम्पनी र भेन्चर क्यापिटल फन्ड्सहरूले एआइमा अर्बौँ खर्च गरेका छन् र यही कारण मानिसले गर्ने कैयन् काम यो प्रविधिले प्रतिस्थापन गर्न सक्ने भएको छ। तर यसले कामदारहरूका लागि मात्र होइन, उपभोक्ता र लगानीकर्ताहरूका लागि समेत विपत्ति निम्त्याउन सक्छ।
कामदारहरूलाई आउन सक्ने समस्या प्रष्ट छ। प्रभावकारी सञ्चार सिप आवश्यक पर्ने जागिरहरूको माग घट्नेछ र यो क्षेत्रमा राम्रो तलव दिने निश्चित पद मात्र बाँकी रहनेछन्। सफाइकर्मी, ड्राइभर र अन्य शारीरिक श्रम गर्ने कामदारको जागिर त जोगिनेछ तर हरेक कामदार यो प्रविधिको विकाससँग तर्सने देखिएको छ।
उदाहरणका लागि उपभोक्ता सेवालाई लिउँ। उपभोक्तासँग अन्तरक्रिया गर्नुपर्ने सेवाका लागि कम्पनीहरूले च्याटजिपिटीमार्फत त्यो सेवा दिनेछन्। कहिलेकाहीँ झोक्किएर कुरा गर्ने उपभोक्तासँग च्याटजिपिटीले बुद्धिमतापूर्वक र शान्त स्वरमा कुरा गर्नेछ। जागिरको सुरुको चरणमा थोरै अवसर हँुदा क्यारियर सुरु गर्ने अवसर पनि सीमित हुनेछन्। यसरी यसअघि डिजिटल प्रविधिले सिर्जना गरेको प्रवृत्तिको पुनरावृत्ति हुनेछ।
उता, उपभोक्ता पनि समस्यामा पर्नेछन्। च्याटबट्सले उपभोक्ताका नियमित प्रश्नमात्र होइन, अन्य प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। भुइँतलामा पानीको पाइप फुटेर जलाम्य हुने अवस्था तथा एयरलाइन्स सेवा अवरुद्ध भएको अवस्थामा योग्य तथा सहानुभूतिपूर्वक काम गर्न सक्ने व्यावसायिक जनशक्तिले मात्र आवश्यक संसाधन परिचालनमार्फत उचित समाधान निकाल्न सक्छन्। त्यतिबेला हामीले घण्टौँसम्म च्याटवटको समाधान कुरेर बस्न सक्ने स्थिति हुँदैन र तत्काल वार्तालाप सुरु गर्ने च्याटबट त्यतिबेला प्रयोगविहीन बन्नेछ।
हो, त्यतिबेला पनि नयाँ नयाँ कम्पनीले विकसित प्रविधिमा आधारित उपभोक्ता सेवा दिन र सिर्जित अवसरलाई आत्मसात गर्ने उपाय निस्कने अपेक्षा गर्न सकिन्छ तर वास्तविक दुनियामा नयाँ फर्महरूको बजार प्रवेश र सेवा विस्तार त्यति छिटो हुन कठिन हुन्छ। हामीले स्थानीय बेकरी, मित्रवत् व्यवहार गर्ने हवाईसेवाका प्रतिनिधि अथवा निश्चित डाक्टरलाई मन पराउँला तर नयाँ बेकरी खोल्न, नयाँ हवाईसेवा सुरु गर्न तथा नयाँ अस्पताल निर्माण गर्न त्यति सजिलो छैन। हाल भैरहेका कम्पनीलाई तुलनात्मक फाइदा छ। बजारको शक्ति रहने हुँदा आवश्यक प्रविधि आत्मसात गरेर अनुकूलित हुन उनीहरूलाई सहज हुनेछ।
यसैगरी नयाँ कम्पनीले वस्तु र सेवा दिँदा डिजिटल संसाधनसहितका नयाँ प्रविधिको आवश्यकता हुन्छ जसका कारण कामदारले उपभोक्तालाई प्रभावकारीरूपमा सेवा दिन सक्छन्। तर एआइमा लगानीले अटोमेसनलाई जोड दिएको हुन्छ र यसप्रकारको सेवाका लागि उपयुक्त उपकरणको विकास गरिएको हुँदैन।
प्रतिक्रिया दिनुहोस