aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

श्रीमतीले अर्को बिहे गरेसँगै आफन्तले हेला गरेपछि एक वर्षदेखि ओडारमा बास

  • रासस
    रासस
  • मंगलबार, ०९ फागुन २०७९
श्रीमतीले अर्को बिहे गरेसँगै आफन्तले हेला गरेपछि एक वर्षदेखि ओडारमा बास

पर्वत । बेनी नगरपालिका ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । 

बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले त्यही सडक छेउको ओडारलाई एक वर्षदेखि आश्रयस्थल बनाएका छन् ।

छोराहरूको मृत्यु भएको, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेलाँ गरेपछि ओढारमा बस्नुपरेको राहुलले बताए । ‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’, उनले भने, ‘गाउँ फर्किँदा साथ दिने कोही भएनन् । हेलाँ गर्न थालेपछि घर छाडेर ओडारमा बस्न थालेँ ।’

उनी कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउँछन् । सो ओडार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन् । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न भने सक्छन् ।

काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुंगानाले बताए । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थालेको वर्ष दिन भयो’, उनले भने, ‘काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।’

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार पुग्छन्। दिउँसो घाम लागे पनि राति सिधैँ चिसो हावा ओडारमा छिर्छ । त्यति मात्र होइन मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओडारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन् । “ओडारमा बसेको थाहा पाएलगत्तै खोजीनीति गरेको हो’, उनले भने, ‘अन्त जाने ठाउँ छैन । यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् । 

प्रतिक्रिया दिनुहोस