भैरहवा । रेबिजको प्रकोप न्यूनीकरण र छाडा कुकुरको सङ्ख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मंगलवारदेखि तीन दिने ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको छ । छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो ।
नगर क्षेत्रमा देखा परेका छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै रेबिजको भ्याक्सिन लगाइदिएपछि कुकुरलाई यथास्थानमै छाडिदिने गरिएको छ । बन्ध्याकरण गरिएको र एक वर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराइले शिविर अवधिमा न्यूनतम पनि १ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले अर्को वर्षदेखि नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिनका लागि प्रत्येक वडा–वडामा योजना सञ्चालन गरिने बताए ।
जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चापागाईँले कुकुरलाई संरक्षण गर्नुपर्ने तर रेबिजबाट जोगिन भने यस्ता शिविर जरुरी रहेको बताए । लुम्बिनी प्रदेश पशुपन्छी विकास निर्देशनालयका निर्देशक डा.परवेज आलमले चालु आ.व. मा प्रदेशका रुपन्देही र गुल्मी जिल्लामा छाडा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिने जनाए ।
प्रतिक्रिया दिनुहोस