
एजेन्सी । रुस–युक्रेन युद्धले २४ फेब्रुअरीमा एक वर्ष पूरा गर्दैछ । त्यसको ३ दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी जनतालाई सम्बोधन गरेका थिए । पुटिनले भने– रुसले सुरुमा युद्धबाट बच्न धेरै कूटनीतिक प्रयास गरे तर नाटो र अमेरिकाले त्यसलाई सफल हुन दिएनन् । अझै वार्ता चाहन्छौं, तर सर्तहरू हामीलाई मान्य छैनन्।’
पुटिनले युक्रेनलाई लामो दूरीको प्रतिरक्षा प्रणाली दिइने बताए । यही कारणले सिमानामा खतरा बढेको छ । रुस र युक्रेनको मामला स्थानीय थियो। अमेरिका र उसका सहयोगीहरूले यसलाई विश्वव्यापी मुद्दा बनाए।
पुटिनले भने– ‘सत्य यो हो यो युद्ध पश्चिमी शक्तिका कारण सुरु भएको हो । त्यो बेला पनि हामीले सक्दो प्रयास गरेका थियौं । ती मानिसहरूले किभ र युक्रेनको काँधमा बन्दुक राखेर उनीहरूलाई मूर्ख बनाइरहेका छन्। हाम्रो देशलाई कसरी जोगाउने भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’
अमेरिका र उसका सहयोगीहरूले आफ्नो प्रभुत्व बढाउने षड्यन्त्रका लागि अरूलाई प्यादा बनाएर बसिरहेका छन् । पश्चिमी शक्तिले युद्धको जिनलाई बोतलबाट निकालेको छ, र केवल तिनीहरूले यसलाई बोतलमा फिर्ता राख्न सक्छन्। हामी केवल हाम्रो देश र जनताको रक्षा गर्न चाहन्छौं र त्यसै गर्दैछौं।
जहाँसम्म डोनबास क्षेत्रको समस्या छ, जहिले पनि पहिले शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्छ भन्दै आएका छौं, तर रुसलाई दोष लगाउनेहरूले पश्चिमा नेताहरूको भूमिका पनि हेर्नुपर्छ उनले भने। यी मानिसहरूले लगातार धोका र झूट बोल्छन्। पश्चिमी शक्तिलाई सम्मान कसरी गर्ने थाहा छैन। तिनीहरू सारा संसारमा थुक्ने प्रयास गर्छन्। आफ्नो देशका जनतासँग पनि त्यही विधि अपनाउने गर्छन् ।
पुटिनले भने–‘पश्चिमी गतिविधिका कारण हामीले युक्रेनमा आक्रमण गर्नुपर्यो । हाम्रो आफ्नै सुरक्षाको लागि, युक्रेनमा आक्रमण आवश्यक थियो। डोनबासका जनताले रुसी सरकारसँग सहयोग मागेका थिए । जसरी यी शक्तिहरूले युगोस्लाभिया, इराक, लिबिया र सिरियालाई ध्वस्त पारे, युक्रेनलाई पनि त्यस्तै गर्न चाहन्छन् ।’
यो ध्यानमा राख्नुपर्छ रूसले आफ्नो सम्मानमा सम्झौता गर्दैन। कीभसँग डोनबासको मुद्दा हल गर्ने शक्ति छैन। त्यहाँका जनता रुस आएर आफ्नो समस्या समाधान गरोस् भन्ने चाहन्छन् । युद्धले मात्र यो समस्या समाधान गर्न सक्छ भनेर मैले कहिल्यै भनेन। वार्ता हुनुपर्छ तर त्यसमा सही बाटो अपनाउनुपर्छ । रुस दबाबको रणनीतिमा झुकेको छैन र झुक्ने छैन उनले आफ्नो भाषणमा भनेका छन् ।
पश्चिमा शक्तिहरूसँग पनि कुरा गर्न कुनै समस्या छैन । बीचमा संयुक्त सुरक्षा संरचना होस् भन्ने चाहन्छौं। यसका लागि म आफैंले धेरै वर्ष प्रयास गरेँ तर अमेरिका र अन्य पश्चिमी शक्तिहरू समाधान चाहँदैनन् । हामीलाई सधैं बेवास्ता गरियो। विश्वका अन्य देशमा अमेरिका सरह सैन्य अखडा भएको विश्वको कुन देश हो ? यसपछि शान्तिको कुरा गर्दा सोच्नुपर्छ उनले थपे।
पुटिनले पश्चिमी विश्व आध्यात्मिक विपत्तितर्फ अघि बढिरहेको बताएका छन् । तिनीहरूले हाम्रो चर्च र परम्परामाथि आक्रमण गरिरहेका छन्। उनका धर्मगुरुले समेत ‘सेम सेक्स म्यारिज’ लाई समर्थन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस