aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौंमै नगरप्रमुखले बनाए श्रीमतीलाई बन्धक, कारबाहीको माग गर्दै उजुरी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, १० फागुन २०७९
काठमाडौंमै नगरप्रमुखले बनाए श्रीमतीलाई बन्धक, कारबाहीको माग गर्दै उजुरी

काठमाडौं । काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित र उनकी दिदी मिलेर आफूलाई मानसिक यातना दिने गरेको र घरमै बन्धक बनाउने गरेको भन्दै कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी दिएकी हुन् । उनले आयोगमा दिएको उजुरीमा न्यायको याचना गरेकी छन् ।

महिला आयोगले पनि सो उजुरीलाई उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउने बताएको छ । महिला आयोगले उजुरीकाबारेमा थप अध्ययन थालिएको र आवश्यक कारबाही गरिने जनाएको छ ।

नगरप्रमुख नापितकी श्रीमती सरिताले आफ्नो विवाह नापितसँग आठ महिनाअघि भएको र विवाह भएको दुई सातादेखि नै आफूमाथि घरेलु हिंसा सुरु भएको दाबी गरेकी छन् ।

नगरप्रमुख नापित र सरिताबीच २४ असार २०७९ मा गुहेश्वरी मन्दिरमा धार्मिक परम्पराअनुसार विवाह भएको थियो । नगरप्रमुख नापितकी जेठी श्रीमतीको मृत्यु भएकाले उनले सरितासँग दोस्रो विवाह गरेका हुन् । सरिताले अहिले आफूले घरमा कष्टकर जीवन बिताउन बाध्य भइरहेको दाबी गरेकी छन् । उनले महिला आयोगमा दिएको उजुरीअनुसार आमाजू सरस्वती नापित र श्रीमान नगरप्रमुख रमेश नापित मिलेर बारम्बार मानसिक यातना दिने गरेको र घरबाट बाहिर निस्कन नदिने गरेको बताएकी छन् ।

सरिताले श्रीमान्ले आफूलाई श्रीमतीको जस्तो नभएर घरेलु कामदारको जस्तो व्यवहार गर्ने गरेको बताएकी छन् । ‘मलाई श्रीमान् र आमाजु मिलेर चरम मानसिक यातना दिइरहनुभएको छ,’ नगरप्रमुख नापितकी श्रीमती सरिताले भनिन्, ‘मलाई उहाँहरूले घरेलु कामदारजस्तो बनाउनुभएको छ, त्यसैले घरमै नारकीय जीवन जिउन बाध्य छु ।’

उनले श्रीमानले जहिले पनि अमाजूको कुरा सुनेर आफूमाथि अत्याचार गर्ने गरेको दाबी गरिन् । सधैजसो अमाजूको शरीर र खुट्टा मिच्न लगाउने गरेको, बारम्बार दुव्र्यवहार गर्ने गरेको र सँगै खानबस्न समेत नदिने गरेको उनले बताइन् । ‘घरमै सबै मिलेर मलाई अछूतजस्तो व्यवहार गरिन्छ,’ पीडित सरिताले भनिन्, ‘कतै जान पनि दिइन्न, गएमा फर्कन्न दिन्नौं तँ बाहिरै बस्नुपर्छ भनेर धम्की दिने गर्छन् ।’

घरमा श्रीमान् र परिवारका सदस्यले गरेको दुव्र्यवहारले आफू मानसिक रूपमै विक्षिप्त बन्ने गरेको उनको दुखेसो छ । सरिताले महिला आयोगमा दिएको उजुरीमा आफूले भोग्नुपरेका पीडाको फेहरिस्त पेस गरेकी छन् । महिला आयोगका अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको उजुरीमा उनले भनेकी छन्, ‘हजुर पनि एक महिला नै हुनुुहुन्छ, मेरो दुख, पीडा, बुझिदिनुपर्‍यो, म अन्यायमा परेकी छु, मलाई न्याय दिनुहोस् ।’ मेरो कथा सुरुवात गर्दा हात कामिरहेको छ, मनमुटु भारी भएर आउँछ, आँखाबाट आंशु झरेको झरै छ, कहिले न्याय पाउँला ?’ सरिताले उजुरीमा उल्लेख गरेकी छिन् ।

उनले विवाह भएको आठ महिना भएको र आफूलाई नापित परिवारले पनि आठ महिनादेखि नै निरन्तर दुःख कष्ट दिँदै आएको दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस