काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारको आश्वासन देखाएर भ्रम छरेको बताएको छ । कांग्रेस र एकीकृत समाजवादी निरन्तर संवादमा रहेको भन्दै ओलीले समग्र राजनीतिमै भ्रमको खेती गरेको कांग्रेसकै महामन्त्री गगन थापाले बताए । थापाले भने, ‘ओलीले सिर्जना गरेको भ्रम मात्र हो। यो माधव नेपालजीले राम्रोसँग बुझ्नुहुन्छ।’
थापाका अनुसार राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारलाई नै प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने बताएका छन्। ‘कांग्रेससँग माओवादीको राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने कुरा भइसकेको छ। एमालेको सम्भावना नै छैन। कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने हो। अब केपी ओलीले कसैलाई भनेर केही हुन्न। कोही पनि भ्रममा नपर्दा हुन्छ,’ महामन्त्री थापाले भने, ‘अहिले प्रचण्डजीको इच्छा कांग्रेससँग बस्ने मन छ। यसअघिकै पाँच दलीय गठबन्धन प्रचण्डजीले खोज्नुभएको छ। हामीसँग भेटको कुरामा पनि उहाँको पहिलेको पाँच दलीय गठबन्धनप्रति झुकाव बुझ्न सकिन्थ्यो।’
पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमतिमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। त्यतिबेलाकै समर्थनलाई निरन्तर दिनुपर्ने अडानमा एमाले छ। कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउँछ भन्ने छ। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिको विषय पेचिलो बन्न नसकिरहेको अवस्थामा कांग्रेसले प्रचण्डको साथ खोजेको छ। आइतबार साँझ मात्र कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए।
राष्ट्रपति कांग्रेसको उम्मेदवारलाई बनाए प्रचण्डलाई पाँच वर्ष सरकारको नेतृत्व गर्न दिने कांग्रेसको प्रस्तावपछि सोमबार प्रचण्डले पार्टी पदाधिकारी बैठकसमेत राखे। निर्णय गर्ने अधिकार उनले आफैं लिए।
कांग्रेससँग माओवादीको राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने कुरा भइसकेको छ। एमालेको सम्भावना नै छैन। कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुने हो।
प्रतिक्रिया दिनुहोस