aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु, आज मतदाता नामावली प्रकाशन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
राष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु, आज मतदाता नामावली प्रकाशन हुने

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आजबाट प्रक्रिया सुरु हुने भएको छ । आज राष्ट्रपतिलाई मतदान गर्ने मतदाताहरुको नामावली प्रकाशन गरेसँगै यसको प्रक्रिया सुरु हुन लागेको हो ।

१३ गते मनोनयन र २५ गते हुन लागेको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज नामावली प्रकाशन गर्ने तयारी गरेको छ । 

आज बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ भने आजै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिन सकिने उल्लेख गरेको छ । 

बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ भने दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । 

उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ। शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

राष्ट्रपति निर्वाचन फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् ।

२०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसदका कुल मतदाताको संख्या ३३२ रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस