
काठमाडौं । कुनै पनि नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने कानुन नहुँदा पनि कतिपय व्यापारीहरुले विदेशमा सम्पत्ति खरिद गरेको भने समाचारप्रति संसंदमा प्रश्न उठेको छ ।
बुधबार सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन संशोधनबारे संसदमा भएको छलफलमा नेपालका धनाड्यहरुले विदेशमा सम्पत्ति जोडेको बारे सांसदहरुले आपत्ति जनाएका हुन् ।
सम्पत्ति शुद्धीकरण ऐनमा गर्न लागिएको संशोधनले मुलुकमा अराजता निम्तिन सक्ने भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । कतिपयले यस्ता संशोधन गर्नै नहुने तर्क राखेका छन् भने कतिपय सांसदहरुले भने चाँही मुलुकलाई कालोसूचीबाट बचाउने समेत त्यसको आवश्यक पर्ने भनिरहेका छन् ।
यही क्रममा बोल्दै सांसद रघुजी पन्तले भने नेपालको कानुनले वर्जित गरेको नेपाली नागरिकले विदेशी लगानी गर्न पाउने अवस्थाका विपरित कसरी नेपालका एक मात्र डलर अर्बपतिले विश्वका विभिन्न देशमा व्यापर र श्रीलंकामा बैंक समेत किने भन्दै प्रश्न उठाएका छन् ।
उनले भने, ‘बाहिर त्यत्रो सम्पत्ति कसरी गयो । यो कुरा के हो ? त्यस्ता अर्ब पतिको देशभित्रै कति उद्योग धन्दा छ र लगानी कत्रो छ ? के यसको छानबिन हुुनुपर्दैन ?’
उनले कालोधन सेतो पार्नेगरी ऐनमा संशोधन गर्न लागिएको हो भने त्यसो गर्न नहुने तर, कडाई भने गर्नुपर्ने बताएका छन् । सम्पत्ति शुद्धिकरणको विषय नैतिकतासँग जोडिएको विषय भएकाले स्रोत नखलेको सम्पत्तिको कर तिर्दैमा त्यसलाई वैद्य मान्न नहुने उनको तर्क थियो ।
त्यसैगरी अर्का सांसद प्रेम सुवालले कालोधनलाई सेतो पार्ने उद्देश्यले कानुन संशोधनको विरोध गरेका छन् । अनैतिक ढंगले अकुत सम्पत्ति कमाएकाहरुका लागि छुट दिने गरी कानुनमा संशोधन गर्न नहुने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस