खुवासभा । खाँदबारी खानेपानी र उपभोक्ता तथा सरसफाइ संस्थाको केही कर्मचारीले अनियमितता गरेको सम्पूर्ण रकम फिर्ता भएको छ।
संस्थाका तीन कर्मचारीले अनियमितता गरेको २० लाख २० हजार रुपियाँ रकम संस्थाको बैङ्कमा जम्मा भएको संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
संस्थाका लेखापाल लक्ष्मण पराजुलीले ६२ हजार रुपियाँ बैङ्कमा जम्मा गरेका छन् । त्यस्तै, प्रशासन सहायक जुनिता कार्कीले तीन पटकमा पाँच लाख ६१ हजार रुपियाँ जम्मा गरेको बताइएको छ । त्यस्तै काउन्टर सहायक सुरेश ढकालले दुई पटक गरी १३ लाख ९५ हजार रुपियाँ जम्मा गरेका संस्थाका अध्यक्ष नरेन्द्र राईले जानकारी दिए।
अनियमितता भएको सम्पूर्ण रकम बैङ्कमा जम्मा भई भौचरसमेत प्राप्त भइसकेको अध्यक्ष राईले बताए।
खानेपानी संस्थामा भ्रष्टाचार भएको जनगुनासो आउन थालेपछि समितिले खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनअनुसार उल्लेखित रकम अनियमितता भएको पाइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस