aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपाली विद्यार्थीलाई भारत सरकारले पकेट खर्च दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
नेपाली विद्यार्थीलाई भारत सरकारले पकेट खर्च दिने

काठमाडौं । भारतको सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली आवासीय चिकित्सकलाई भारत सरकारले पकेट खर्च (स्टाइपेन्ड) उपलब्ध गराउने भएको छ। भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा.हर्षवर्धनले ‘स्टाइपेन्ड’ उपलब्ध गराउने आश्वासन दिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जानकारी दिए।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाली क्षेत्रीय समितिको पाँचदिने सम्मेलन उद्घाटन सत्रमा मन्त्री यादव सहभागी भएका थिए। सम्मेलन समापनका दिन शुक्रबार मन्त्री यादवले हयात होटलमा समकक्षी हर्षवर्द्धनसँग भेट गरेका थिए। ‘यो भेटमा भारतका सरकारी कलेजमा पोस्ट ग्याजुएसनमा अध्ययनरत नेपाली विद्यार्थीलाई स्टाइपेन्ड उपलब्ध गराउने र नेपाल भारतबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छु, भेटघाटमा भएको कुराकानीबारे जानकारी दिँदै मन्त्री यादवले भने।

भारतीय विद्यार्थीसरह नेपाली विद्यार्थीले पनि स्टाइपेन्ड पाउने भएका हुन्। 'चण्डीगढ अस्पतालका लागि पनि निर्णय भइसकेको जानकारी पाएका छौं,' मन्त्री यादवले थपे। यसका अलावा भारतमा र नेपालमा उपचारका लागि आवतजावत गर्ने नागरिकलाई सहजता प्रदान गर्ने विषय र भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित अस्पतालको गुणस्तर सुधारका कुरा, आयुर्वेदको विकासका लागि सहयोग गर्ने कुरा पनि छलफल भएको मन्त्री यादवले बताए। यो समाचार आजको अन्नपूण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस