aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सामाजिक सुरक्षा कोषमा २९ अर्ब संकलन हुँदा साढे ३ अर्बको दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ फागुन २०७९
सामाजिक सुरक्षा कोषमा २९ अर्ब संकलन हुँदा साढे ३ अर्बको दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा २९ अर्ब रुपैयाँ भन्दाबढि रकम संकलन भएको छ । कोषका अनुसार चालु आवको फागुन ७ गतेसम्म २९ अर्ब ६० करोड रुपैयाँ योगदान रकम संकलन भएको हो । कोषका अनुसार ३ लाख ९४ हजार ८५ जना योगदानकर्ताबाट यो रकम जम्मा भएको हो। 

सामाजिक सुरक्षा कोषमा १७ हजार ६७५ रोजगारदाता आबद्ध भएका छन् । कोषले हालसम्म ३ अर्ब रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरिसकेको छ। कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका विभिन्न योजनामा ३ अर्ब ५२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको हो । जसमा दाबी सङ्ख्या ६३ हजार ७४० रहेको थियो ।

वृद्ध अवस्था सुरक्षा योजनामा सर्वाधिक दाबी भुक्तानी
हालसम्म कोषले वृद्ध अवस्था सुरक्षा योजनामा सर्वाधिक दाबी भुक्तानी गरेको छ । कोषले यस अवधिमा उक्त योजनामा ३ अर्ब ६५ लाख १२ हजार ६७४ रुपैयाँ दाबी भुक्तानी गरेको हो । जसमा दाबी गर्नेको सङ्ख्या ३७ हजार ८२१ रहेको थियो।

कुन योजनामा कति गर्यो भुक्तानी
कोषले चालु आवको फागुन ७ गतेसम्म औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ४० करोड ९१ लाख २ हजार ७६० रुपैयाँ दाबी भुक्तानी गरेको हो । जसमा दाबी गर्नेको सङ्ख्या २४ हजार ४३२ रहेको छ ।

त्यसैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ४ करोड ८२ लाख ३४ हजार ८५१ रुपैयाँ दाबी भुक्तानी गरेको छ । सो योजनामा दाबी गर्नेको सङ्ख्या एक हजार १८३ रहेको छ । त्यसैगरी आश्रित परिवार सुरक्षा योजनामा दाबी गर्नेको सङ्ख्या ३०४ रहेको छ ।

कोषले सो योजनामा ६ करोड २५ लाख ६१ हजार ४३४ रुपैयाँ भुक्तानी गरेको छ । कोषले साधारण अवकाश कोष, विशेष सुविधा अवकाश कोष, अतिरिक्त योगदान कोष, अन्य कोषबाट स्थानान्तरण अवकाश प्रतिफल कोष र निवृत्तिभरण प्रतिफल कोष लगायतका योजना सञ्चालन गरेको छ ।

प्रदेश अनुसार रोजगारदाताको अवस्था
प्रदेशगत अवस्था हेर्ने हो भने हालसम्म प्रदेश नम्बर एकमा एक हजार ८६० रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । त्यस्तै, मधेस प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या ८०८, बागमती प्रदेशमा सबैभन्दा धेरै १२ हजार २११ रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको रोजगारदाताको सङ्ख्या ८२६, लुम्बिनी प्रदेशमा एक हजार ४७६, कर्णालीमा २३८ र सुदूरपश्चिममा प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या २५६ रहेको छ ।

प्रदेश अनुसार योगदानकर्ताको अवस्था
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा रहेको देखिन्छ । उक्त प्रदेशमा कोषमा आबद्ध हुनेको सङ्ख्या ३ लाख ३ हजार ८१३ रहेका छ । त्यस्तै, प्रदेश नम्बर १ मा ३८ हजार ३७९ जना योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

त्यसैगरी, मधेस प्रदेशमा कोषमा आबद्ध हुने योगदान कर्ताको सङ्ख्या २१ हजार १४५, गण्डकी प्रदेशमा १४ हजार ९९६, लुम्बिनी प्रदेशमा १४ हजार ३२, कर्णाली प्रदेशमा १२ हजार ७ र सुदूरपश्चिम प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताको सङ्ख्या एक हजार ५१३ रहेको छ ।

कुन योजनामा कति रकम संकलन
कोषको योजना अनुसार हालसम्म वृद्ध अवस्था सुरक्षा योजनामा सर्वाधिक योगदान रकम संकलन भएको छ । यस अवधिमा उक्त योजनामा १९ अर्ब ४३ करोड ७३ लाख ९७ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।

त्यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ९० करोड २२ लाख १४ हजार रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा एक अर्ब २६ करोड ३० लाख ९९ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा २४ करोड ३५ लाख ९८ हजार रुपैयाँ र साधारण अवकाश कोष योजनामा ६ अर्ब ११ करोड ६३ लाख ४६ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषका अनुसार यस अवधिमा विशेष सुविधा अवकाश कोष योजनामा ६२ लाख २४ हजार रुपैयाँ, अतिरिक्त योगदान कोषमा २९ करोड ६७ लाख २२ हजार रुपैयाँ, अन्य कोषबाट स्थानान्तरण योजनामा २९ करोड ४२ लाख ५६ हजार रुपैयाँ, अवकाश प्रतिफल कोष योजनामा १९ करोड ७६ लाख ८४ हजार रुपैयाँ र निवृत्तिभरण प्रतिफल कोष योजनामा ८५ करोड १८ लाख ८७ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस