aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुवै हात छैनन्, भिख मागेरै छोराछोरीको भविष्य कोर्दैछन् काली बहादुर

  • इश्वरी थापा
    इश्वरी थापा
  • विहीबार, ११ फागुन २०७९
दुवै हात छैनन्, भिख मागेरै छोराछोरीको भविष्य कोर्दैछन् काली बहादुर

काठमाडौं । आखिर भाग्यले नै ठगेपछि कसैको केही लाग्दो रहेनछ । कर्म गर्न कहिल्यै पछि हटेनन् उनी। तर, शायद भावीले नै त्यही लेखेको थियो जो उनी अहिले भोगिरहेछन् । त्यसैले कलि बहादुरको जीवनमा सधैँ कालो बादल मडारिरहेको छ जब उनी आफ्नो कार्यस्थलमा नै एक अकल्पनीय दुर्घटनामा परे ।   

यो कथा बाजुरा जिल्ला, खपिट गाउँपालिका वडा न. २ स्थायी घर भएका काली बहादुर बुढाको हो । जो अहिले काठमाडौँमा भिख मागेर परिवार पाल्न र जीवन धान्न बाध्य छन् । अहिले ३८ वर्षका भए उनी जो १७ वर्षको उमेरदेखि नै परिश्रमको फल मिठो हुने विश्वासका साथ भारत तर्फ श्रम बेच्न गएका थिए । त्यही बेला काम गर्ने सिलसिलामा उनले दुवै हात गुमाए । दुर्घटनाबस् विद्युतीय करेन्ट लागेर दुवै हात जलेपछि भने उनको जीवनमा अन्धकार छायो ।  

अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण त्यता तिरको बोल बचनको भाषामा काला पहाड (भारत) गैर श्रम बेच्नुपर्ने बाध्यतामा रहेका उनको दुवै हात गुमेपछि कुनै विकल्प रहेन त्यसैले भिख माग्न थाले ।  

उनको जिम्मेवारीमा एक छोरा र एक छोरीको भविष्य छ । छोरा हाल १० कक्षामा पढ्दै छन् । कक्षा ६ मा पढ्ने छोरीका दुबै आँखा बिग्रिएका कारण उनी दृष्टिविहीन जीवन बाँचिरहेकी छिन् । ती छोरीको भविष्य के होला ? ‘कसरी उनको बाँकी जीवन चल्ला ?’ काली बहादुरको मनमा त्यही मात्र चिन्ता छ ।     

हाल डल्लुमा डेरा गरी बसिरहेका उनी भन्छन्, ‘महिनाको चार हजार कोठा भाडा तिर्नु पर्छ । अपाङ्ग छोरी र यही चैत्रमा एसइई दिन लागेका छोराको पढाई खर्च पनि पुर्‍याउनु छ ।’

बालकृष्ण समले कवितामा भने जस्तै ‘दुखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुख दे’ भनेर रिसाउन सुहाउँछ काली बहादुरले । दुई सन्तानको भार उनैलाई छाडेर श्रीमती अर्कैसँग हिँडिन् । एक्लै सबै सम्हाल्नु परेको छ, बुढाले । 

स्वयभूनाथ मन्दिरको सिँढीमा उनी भीख मागिरहेका थिए दुई साता अघि । उनी विगत १२ वर्ष देखी भिख माग्ने कामलाई नै पेसा र बाँच्ने सहारा बनाइरहेका छन्। त्यस अघि उनी काठमाडौँका रत्नपार्क, पशुपतिनाथ मन्दिर परिसर, न्यूरोडका गल्ली र जाउला खेलको पुलमा बसेर माग्थे। यसरी विभिन्न ठाउँमा आफ्नो माग्ने अड्डा बनाएका उनी अन्ततः भगवान् बुद्धको शरणमा छन्। त्यहाँ जाने दर्शनार्थी नै उनका असली देवता हुन्। 

उनी स्वयम्भूमा माग्न बसेको विगत तीन महिना देखि रहेछ । उनी भन्छन्, ‘यहाँ स्वयम्भूमा आएको मङ्सिर ९ गतेदेखि हो । यसअघि रत्नपार्क, जाउलाखेल, पशुपतितिर बसिन्थ्यो । अहिले महानगरले बस्न दिएन । त्यसैले यहाँ आएँ ।’ 

यसरी मागेको पैसाले नै घरभाडा तिर्ने, खाने, रासन–पानी किन्ने, कपडा किन्ने, घरमा छोराछोरीको लागि पनि पठाइदिने गरेको उनले बताए । उनले नै पठाएको पैसाले छोराको पढाई खर्च चलिरहेको छ । आँखा नदेख्ने छोरीको पेट भरिएको छ । उनीहरूको भविष्य बनाउनुपर्ने दायित्व उनमा छ ।          

 

 

प्रतिक्रिया दिनुहोस