aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छः उपाध्यक्ष संघई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ फागुन २०७९
अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छः उपाध्यक्ष संघई

सुनसरी । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने बताएका छन् । आजदेखी धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघईले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको बताएका हुन् । 

सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्नेमा उपाध्यक्ष संघाईको जोड थियो । निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्न सरकारले लिएको आठ प्रतिशत छुटको नीति सकारात्मक रहेको बताउदै संघइले यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी रहेकोमा जोड दिए । ‘आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइने झन्झटिलो प्रक्रिया पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ’ संघइको भनाई थियो । 

बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको प्रसङ्ग उल्लेख गर्दै संघईले यसको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे । खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताए । आफूलाई गाह्रो–साह्रो परेका बेलामा बैंकवाट ऋण लिने तर अहिले आएर तिर्दिन भन्न चाहिँ नपाइने संघईको भनाई थियो । 

अहिले सिंगो मुलुक नै आर्थिक संकटबाट गुज्रिरहेको बताउदै संघईले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने तर्फ सरकार र नीजि क्षेत्र दुबैको हातेमालो एवं सहकार्य जरुरी रहेको उल्लेख गरे । आजदेखी शुरुभएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने छ । पर्यटन, कृषि, सूचना प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने मुल लक्ष्य सहित शुरु भएको धरान एक्स्पोमा लगानी सम्मेलन तथा ‘बीटूबी’ बैठक समेत संचालन गरिने आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस