
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार निर्णायक बार्ता हुँदै छ ।
राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णय वार्ता हुन लागेको हो । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरू बहुपक्षीय छलफल गरिरहेको भए पनि कुनै सहमति जुट्न सकिरहेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीसँगको बिहीबार छलफलपश्चात् प्रधानमन्त्री प्रचण्डले शुक्रबार एमाले अध्यक्ष ओलीसँग निर्णाय वार्ता गर्ने बताए । ‘छलफल चलिरहेको छ, शुक्रबार एमाले अध्यक्षसँग कुरा हुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।
राष्ट्रपतिकै विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गरेका थिए । उनले बुधबारको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन् । साथै बिहीबार जसपासँगको छलफलमा उनले उपराष्ट्रपति जसपालाई दिने विषयमा आफू सकारात्मक भएको बताए ।
बिहीबार साँझ सिंहदरबारमा गत आमनिर्वाचन ताकाको चुनाबी गठबन्धन ब्युँताउने विषयमा छलफल गर्न एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच छलफल भएको थियो । तर, बैठक बिना निष्कर्ष टुंगिएको छ । उक्त बैठक शुक्रबार पनि बस्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनः छलफल गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर यतिबेला प्रचण्डले सरकारमा रहेका र बाहिर रहेका सबै दलसँग राष्ट्रिय सहमतिका लागि भन्दै दैनिक छलफल गरिरहेका छन् । तर, सहमति जुट्न सकिरहेको छैन ।
माधव नेपाललाई राष्ट्रपति बनाउन माग
यसैबीच एकीकृत समाजवादीले वाम–समाजवादी मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गर्दै राष्ट्रपतिमा दाबी गरेको छ । बिहीबार बसेको तीन दलीय बैठकमा एकीकृत समाजवादीले यस्तो प्रस्ताव गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए ।
बैठकपछि ज्वालाले भने, ‘हामीले चुनावअघि पनि यस विषयमा कुरा गरेका थियौं । अहिले पनि त्यसमै केन्द्रित भएर छलफल गरेका छौं । सकभर वाम समाजवादी मोर्चा बनाएर जाऔं भनेर छलफल गरेका छौं ।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा गरिरहेको र आफ्नो पार्टी अध्यक्ष नेपालमा त्यस्तो सहमति जुट्ने वातावरण बनेकाले अन्य पार्टीसँग पनि छलफल गर्ने कुरा भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस