aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बहुप्रतीक्षित कलङ्की–महाराजगञ्ज सडक खण्डको विस्तारमा लाग्यो सरकार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १२ फागुन २०७९
बहुप्रतीक्षित कलङ्की–महाराजगञ्ज सडक खण्डको विस्तारमा लाग्यो सरकार

काठमाडौं । काठमाडौँ चक्रपथको बहुप्रतीक्षित कलङ्की–महाराजगञ्ज सडक खण्डको विस्तार कार्य छिट्टै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

चक्रपथको सो खण्डको बिहीबार निरीक्षण गर्ने क्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, नेपालका लागि चीनका राजदूत छन सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सरोकारवाला निकायका प्रमुखहरूले सो प्रतिबद्वता व्यक्त गरेका हुन्। 

विस्तार गरिनुअघि पूर्वतयारी नगरिँदा सो सडकखण्डको विस्तार कार्यमा ढिलाइ हुँदै आएको छ। विस्तारका लागि बिजुलीका खम्बाको स्थानान्तरण (रि–लोकेटेड) तथा सडक क्षेत्रमा परेका संरचनाहरू हटाउने कार्य अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहणसमेत हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले चक्रपथ विस्तारका लागि रेखाङ्कनभित्र पर्ने रुख कटान, बिजुली तथा दूरसञ्चारका खम्बासहितका अधिकांश भौतिक संरचना हटाउने कार्य सम्पन्न भइसकेकाले अब विस्तार कार्य छिट्टै नै सुरु हुने जानकारी दिए। उनले भने, “चक्रपथको सो खण्ड विस्तारका विषयमा नेपाल र चिनियाँ पक्षले गम्भीरतापूर्वक अध्ययन गरेको थियो, केही समस्या देखिएको थियो, अब समाधान निकालिसकिएको छ। केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको छ। केही प्रहरी चौकी हटाइसकिएको छ, अब छिट्टै नै काम सुरु गर्छौं।” 

चीनका राजदूत छनले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए। चक्रपथ विस्तारको क्रममा स्वयम्भू स्तूप अगाडि देखिएका समस्या समाधानका लागि डिजाइनमै नयाँ तरिकाले समाधान गर्ने गरी समझदारी भइसकेको उनको भनाइ छ। उनले भने, “त्यहाँ सांस्कृतिक हिसाबले भत्काउन उपयुक्त हुँदैन भन्ने समझदारी भएको छ, डिजाइन फेरेर काम हुन्छ। वसुन्धराको प्रहरी चौकी हिजै हटाइसकिएको छ, मन्दिरको समस्या समाधान भइसक्यो।” धोबीखोलासम्म नै चक्रपथको विस्तार गरिदिन नेपालले चीन सरकारसँग अनुरोध गरेको जानकारीसमेत उनले दिए।

चीनका राजदूत छनले चक्रपथ विस्तारका लागि चीनले नेपालको तयारी कुरेर बसेको बताउँदै नेपाल सरकारले चक्रपथ रेखाङ्कनभित्रका संरचनाहरू हटाउनेलगायतको काममा तदारुकता दिएकाले छिट्टै नै विस्तार कार्य सुरु हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस